पहिले खरानी अहिले हैरानी, मन्त्रीहरूका लागि भाडाको घर खोज्दै सरकार

96

काठमाडौं – नयाँ मन्त्रीहरूका लागि सरकारी क्वार्टर नपुगेपछि सहरी विकास मन्त्रालयले भाडाका घर खोज्न थालेको छ । क्वार्टर नपाएर आफ्नै तरिकाले बसेका सात मन्त्रीका लागि मन्त्रालयले भाडाका घर खोज्न थालेको हो ।

भैँसेपाटीको क्वार्टर पुनर्निर्माण नहुँदासम्म मन्त्रालयले सरकारी भवन तथा निजी भवनमा क्वार्टरको व्यवस्था गर्ने तयारी गरेको छ ।

अहिले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, सञ्चारमन्त्री विक्रम तिमिल्सिना, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला तथा बालबालिकामन्त्री सीता बादी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव, कृषिमन्त्री गीता चौधरी र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव आ–आफ्नै तरिकाले बसेका छन् ।

हाल भैँसेपाटीस्थित क्वार्टरमा भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री सुनील लम्साल छन् । त्यस्तै, पुल्चोकस्थित ६ वटा क्वार्टरमा गृहमन्त्री सुधन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेल, कानुनीमन्त्री सोविता गौतम, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र स्वास्थ्यमन्त्री निशा मेहता बसेका छन् ।

जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका २६ वटा ब्लकमध्ये ११ वटाको पुनर्निर्माण थालेको छ । अन्य बाँकी रहेका १५ वटाको पुनर्निर्माण गर्न बाँकी छ । यी सबै ब्लक पुनर्निर्माण तथा मर्मत गर्नका लागि ६५ करोडभन्दा बढी खर्च हुने सहरी विकास मन्त्रालयको अनुमान छ ।

समाचार वर्गहरू