पाकिस्तानमा भएको विमान दुर्घटनामा ८६ को मृत्यु भएको पुष्टि

24

(काठमाडौं) – पाकिस्तानको कराचीस्थित विमानस्थल बाहिरको आवासीय क्षेत्रमा शुक्रबार भएको विमान दुर्घटना हुँदा कम्तीमा ८६ जनाको मृत्यु भएको छ । यद्यपि, ज्यान गुमाउनेहरूको संख्या यो भन्दा बढी हुन सक्ने त्यहाँका अधिकारीहरुले बताएका छन् ।

विमानमा ९१ जना यात्रु र चालक दलका ८ सदस्य थिए । लाहोरबाट उडेको पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवाको एअरबस ए ३२० विमान कराची शहरको सघन आवासीय क्षेत्र मोडेल कोलोनीमा दुर्घटनाग्रस्त भएको हो ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार विमान स्थानीय समयअनुसार दिउँसो २.३० बजे दुर्घटनामा परेको हो । सिन्ध प्रान्तका सूचनामन्त्री नासिर हुसेन शाहले दुर्घटनामा कम्तीमा २ जना यात्रु बच्न सफल भएको बताएका छन् । उनीहरुलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल लगिएको उनले जनाए ।

बीबीसीका अनुसार विमानका चालकले इन्जिनको शक्ति गुमेको जानकारी गराएका थिए र त्यसपछि विमान संकटमा रहेको सूचना मेडे जारी गरेका थिए । अधिकारीहरुका अनुसार इन्जिन फेल भएलगत्तै चालकले विमानलाई रनवेमा लैजाने प्रयास गरेका थिए । तर विमानस्थल बाहिरका अग्ला भवनमा विमान ठोकिएपछि उनी असफल भएका हुन् ।

विमान दुर्घटना हुनुको कारण पुष्टि हुन बाँकी छ । पीआइएका प्रमुख कार्यकारी एअर भाइस मार्शल अर्शद मलिकले भनेका छन् विमान चालकले ट्राफिक कन्ट्रोललाई उक्त विमानले केही प्राविधिक समस्याहरू ब्यहोरिरहेको बताएका थिए ।

विमानले दुर्घटनामा पर्नु अघि एक पटक विमानस्थलमा अवतरण गर्ने प्रयास पनि गरेको थियो तर विमान चालकहरूले दोस्रो पटक प्रयास गर्ने निर्णय लिएका थिए । ब्यांक अफ पन्जाबका अध्यक्ष जफर मसुद उक्त विमानका एकजना यात्रु थिए र उनी बाँच्न सफल भएका बताइएको छ । अर्का जिवित व्यक्तिको नाम मुहम्मद जुबैर रहेको बताइएको छ ।

समाचार वर्गहरू