पाकिस्तानले ल्यायो बलात्कारीलाई नपुंसक बनाउने नयाँ कानून

19

एजेन्सी – पाकिस्तान सरकारले बलात्कारका मामिलाहरू सम्बन्धी नयाँ कानून ल्याएको छ । जसको उद्देश्य यस विषयमा छिटो मुद्दा चलाउन र कडा दण्ड दिनु हो ।

पाकिस्तान सरकारले बलात्कारका दोषीलाई नपुंसक बनाउने कडा कानून ल्याएको हो । कडा सजाय अन्तर्गत बलात्कारको दोषी प्रमाणित भए रसायनिक रूपमा नपुंसकसम्म बनाउन सकिने प्रावधान राखिएको छ ।

मंगलबार पाकिस्तानका राष्ट्रपति आरिफ अल्बीले यस सम्बन्धी अध्यादेशमा हस्ताक्षर गरेका हुन् । पाकिस्तानका प्रधानमन्त्रीले यस कानूनलाई अबको १ सय २० दिन भित्र संसदबाट पास गर्नुपर्नेछ । त्यसपछि मात्र यो कानून कार्यन्वयनमा आउनेछ ।

कानून अनुसार बलात्कार सम्बन्धी मुद्दा हेर्न फास्ट ट्र्याक अदालतको गठन गरिनेछ र सो अदालतले चार महिनाभित्र आफ्नो फैसला सुनाउन सक्नेछ । यस अध्यादेश अन्तर्गत यौन अपराधमा संलग्न व्यक्तिको राष्ट्रिय दर्ता तयार गरी पीडितको पहिचान गोप्य राख्ने निर्णय गरिउको छ । साथै, केहि अपराधीहरूलाई औषधी दिएर नपुंसक बनाउने सक्ने प्रावधान राखिएको छ ।

लाहोरको बर्बर घटना :
आफ्ना दुई बच्चासहित लाहौरतर्फ आइरहेकी एक महिलाको राजमार्गमा सामूहिक बलात्कार भएपछि पाकिस्तानभर त्यसको विरोध भएको थियो । ती महिलामाथि भएको सामूहिक बलात्कारको घटनाले मुलुकमा यौन अपराधको विरुद्धको वातावरण सिर्जना भएकोले यो कानून ल्याइएको हो ।

घटनाको दोश्रो दिन आफ्ना दुई सन्तानका अगाडि बलात्कृत भएकी महिला पनि घटनाका लागि केही हदसम्म दोषी भएको बयान लाहौरका शीर्ष प्रहरी अधिकारीले दिएपछि पाकिस्तानभर बलात्कारका घटनामा कडा सजायको प्रावधानसहित कानूनको चर्को माग उठेको थियो । यसपछि देशभर विरोध प्रदर्शन भयो र सरकारले कडा कदम चाल्ने वाचा गरेको थियो ।

नयाँ कानूनको आलोचना :

यद्यपि, बलात्कारका दोषीलाई नपुंसक बनाउने कडा कानूनको आलोचना सुरु भएको छ । यो सजाय एकदम कडा भएको र सरकारी अधिकारीहरुले आवश्यक छलफल नै नगरी कानून ल्याएको भन्दै आलोचना भएको हो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खान र उनको मन्त्रिपरिषद्ले गत महिना मात्र यो अध्यादेशलाई अनुमोदन गरेको थियो । मंगलबार पाकिस्तानका राष्ट्रपति आरिफ अल्बीले यस सम्बन्धी अध्यादेशमा हस्ताक्षर गरेका हुन् ।

समाचार वर्गहरू