पार्टी एकीकरणपछि पहिलोपटक नेकपाको केन्द्रीय समिति बैठक बस्दै

28

(काठमाडौं) – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक आज (बुधबार) बाट सुरु हुँदैछ । पार्टी एकता भएको डेढ वर्षपछि बैठक बस्न लागेको हो । नेकपाको गत मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो ।

पार्टीको अन्तरिम विधान-२०७५ मा केन्द्रीय कमिटीको बैठक छ महिनामा एक पटक बस्ने व्यवस्था भए पनि डेढवर्षमा पहिलो पटक बस्न लागेको हो । विधानमा २५ प्रतिशत सदस्यले लिखित माग गरेका खण्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र बस्नुपर्ने व्यवस्था गरिएको छ ।

काठमाडौंको प्रर्दशनीमार्ग स्थित राष्ट्रियसभा गृहमा बिहान ११ बजे बोलाइएको बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको उद्घाटन मन्तव्यपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । सचिवालयको मंगलबारको बैठकले आजबाट सुरु हुने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेको हो ।

बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने र सातै प्रदेशका अध्यक्षहरूले आ–आफ्नो प्रदेश कमिटीको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

सममायिक प्रस्ताव र विविध विषयसमेत बैठकमा प्रस्तुत हुने बताइएको छ । उनका अनुसार समसामयिक प्रस्ताव अहिलेको राजनीतिक गतिविधिमा केन्द्रित हुनेछ । पार्टी एकीकरणपछि पहिलोपटक केन्द्रीय समितिको बैठक बस्न लागेको हो । नेकपाको केन्द्रीय समिति ४४५ सदस्यीय छ । बैठक यही माघ २० गतेसम्म चल्ने छ ।

समाचार वर्गहरू