काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बदलिएको रुपान्तरित कांग्रेस बनाउन पार्टी सभापति शेरबहादुर देउवालगायतका नेताहरुले पदको मोह त्याग्नुपर्ने बताएका छन् ।
कांग्रेस दाङले घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री शर्माले पार्टीलाई आन्तरिक रुपमा बलियो बनाउन नेताहरुमा भएको पदको मोह हट्नुपर्ने बताएका हुन् ।
पार्टीका संस्थापक सभापति विश्वेश्वरप्रसाद कोइलाराले धनुषाको जनकपुरमा भाषणका क्रममा दाङका पर्शुनारायण चौधरीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको, गणेशमान सिहं प्रधानमन्त्री बन्ने भनेको विषय उठाउँदै महामन्त्री शर्माले भने, ‘हाम्रो पार्टी सभापतिज्यू पाँच पटक प्रधानमन्त्री बनिसक्नुभयो । अव फेरि प्रधानमन्त्रीको लोभ गर्ने होइन ।’
अन्य नेताहरुले पनि पदकै लागि राजनीति गर्ने र पद नपाए सबै सक्किनेझैं गर्नु हुँदैन । बरु योग्य र सक्षमलाई नेतृत्वका लागि अघि बढाउनुपर्छ ।’ महामन्त्री शर्माले गौतम बुद्ध एक पटक पनि कुनै पदमा नपुगेर विश्वभरी चर्चित भएको भन्दै राम्रो काम गर्न पदको आवश्यकता नभएको बताए ।
त्यसैगरी महामन्त्री शर्माले राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री दुई कार्यकाल, मन्त्री तीन र संसद ४ पटकभन्दा बढी हुन नपाउने व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए ।