काठमाडौँ, साझा खवर संवाददाता – वैदेशिक रोजगारीका लागि पुनः श्रमस्वीकृति लिएका नेपाली कामदारले स्वास्थ्य परीक्षण गर्नु नपर्ने भएको छ । वैदेशिक रोजगार विभागले पहिलो पटक श्रम स्वीकृतिको लागि मात्रै स्वास्थ्य परीक्षण अनिवार्य चाहिने स्पष्ट पारेको छ ।
यसअघि, दुई वर्षको करार अवधि सकेर बिदामा आएका कामदारले पुनः सोही रोजगारदातासँग काम गर्न इच्छुक भएमा विभागबाट पुनः श्रम स्वीकृति लिनुपर्ने प्रावधान छ । बीमा समितिले वैदेशिक रोजगार जीवन बीमा लेखको लागि कामदारको स्वास्थ्य परीक्षण रिपोर्ट पेश गर्नुपर्ने निर्णय गरेको थियो । सो निर्णय तत्कालका लागि हिजोदेखि स्थगित गरिएको विभागका महानिर्देशक भिष्मकुमार भुसालले जानकारी दिए।
बीमा समितिलाई विभागसँग छलफल नगरी यो प्रावधान लागू नगर्न अनुरोध गरिसकेको जानकारी दिंदै उहाँले विभागको अनुरोध अनुसार यो निर्णय स्थगित भएको बताए। विभागका महानिर्देशक भुसालले बीमा गर्ने समयमा मेडिकलको रिपोर्ट माग्ने कार्य स्थगित भइसकेको बताए।
वैदेशिक रोजगार ऐन र नियमावलीले पुनः श्रम स्वीकृतिमा जाने कामदारले स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधान उल्लेख गरेको छैन । दुई वर्षे पुनः श्रम स्वीकृतिमा जाने कामदारले एक वर्षको थप बिमा गर्नुपर्ने प्रावधान छ । पुनः श्रम स्वीकृति अवधि भने दुई वर्षको मात्रै हुन्छ ।