काठमाडौं – गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी यस वर्षको नवरात्रमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन निर्देशन दिएको छ ।
मन्त्रालयले बिहीबार सबै स्थानीय प्रशासनलाई परिपत्र जारी गरी दशैंमा शक्तिपीठमा नित्यपूजाका लागि बाहेक प्रवेश नदिन निर्देशन दिएको प्रवक्ता तथा सहसचिव चक्र बहादुर बुढाले बताए ।
मन्त्रिपरिषदले पनि दशैंमा मठमन्दिर खोल्ने विषयमा कुनै पनि निर्णय नगरेको र स्वास्थ्य मन्त्रालयले पनि आग्रह गरे अनुसार मठमन्दिर तथा शक्तिपीठहरू खोल्न नदिन निर्देशन दिएको उनले बताए ।
शक्तिपीठ खुला गर्दा कोरोनाको प्रसार झनै बढ्नेबारेमा स्वास्थ्य मन्त्रालयको समेत चासो रहेको र मन्त्रिपरिषद्ले समेत धार्मिक क्षेत्र खुला गर्ने निर्णय नगरेकोले सोही अनुसार परिपत्र गरिएको बुढाले जानकारी दिए ।
यसअघि काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवी लगायतका शक्तिपिठहरू कात्तिक १ गते देखि खुलाउने तयारी गरिएको थियो । मन्त्रिपरिषद्ले अर्काे निर्णय नगरुन्जेलसम्मको लागि भनेर सबै मन्दिर एवं शक्तिपीठ बन्द गर्न निर्देशन दिएको बुढाले जानकारी दिए ।