‘पूर्णबहादुरको सारङ्गी’को कमाइ २० करोड नाघ्यो

100

काठमाडौं – बहु चर्चित चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले २० करोड रुपैयाँ बढिको कलेक्सन गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले प्रदर्शनको ११ दिनसम्मको कमाइ विवरण सार्वजनिक गर्दै यस्तो बताएको हो ।

जसअनुसार आइतबार (२५ कात्तिक)सम्म फिल्मको कमाइ २० करोड ७३ लाख ग्रस छ । फिल्मले आइतबार मात्रै २ करोड ७५ लाख ग्रस कमाएको बताइएको छ ।

यो कुल कलेक्सन साढे १७ करोड नेट हो । यसबाट निर्मातालाई साढे ८ करोड सेयर प्राप्त हुन्छ । वितरक मनोज राठीका अनुसार मुलुकका १०० भन्दा बढी हल र ४५० भन्दा बढी शोबाट यो कलेक्सन प्राप्त भएको हो । यही गति कायम रहे फिल्मले सर्वाधिक कमाइको रेकर्ड राख्न सक्ने राठीको भनाई छ ।

अहिलेसम्म धेरै कमाउने नेपाली फिल्मको रेकर्ड ‘कबड्डी ४’ सँग छ, जसको कलेक्सन निर्माताले दिएको आधारमा (२३ करोड ५० लाख) र चलचित्र विकास बोर्डले दिएको तथ्यांकको आधारमा (२१ करोड ३८ लाख) रहेको छ ।

समाचार वर्गहरू