पूर्वविशिष्टलाई जति चाह्यो त्यति पैसा दिने अभ्यास कानुन बनाएर रोक्नुपर्छ – थापा

52

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले राज्यका पूर्वविशिष्टलाई सरकारले मन्त्रिपरिषद्‌बाट निर्णय गरेर जति चाह्यो त्यति सुविधा र रकम दिने अभ्यास कानुन बनाएर रोक्नुपर्ने बताएका छन् । राज्यकोषबाट पैसा बाँड्ने नभइ पैसा वितरण रोक्ने कानुन बनाउनुपर्ने उनको भनाइ छ ।

पाँचथर जिल्लामा शनिबार आयोजित कार्यक्रममा थापाले कानुन बिना नै राज्यका पूर्वविशिष्टहरूलाई सेवा सुविधा दिइँदै आएकोमा त्यसलाई कानुनको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

पूर्वविशिष्टहरूलाई सेवा सुविधा दिनेबारे सरकारले जनतामा स्पष्ट पार्नुपर्ने थापाको भनाइ छ । ‘अहिले सरकारले के भन्नुपर्‍यो भने म यस्तो कानुन बनाउँछु, मैले बनाएको कानुनबाट नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सेनापति, सभामुख भइसकेको व्यक्तिहरूलाई राज्यले दिनैपर्ने न्यूनतम सुरक्षाको कुरा दिन्छु,’ थापाले भने, ‘त्योबाहेक राष्ट्रको ढुकुटीमा अत्यन्त ठूलो दबाब परेको छ, त्यसकारण सरकारले चाहेको बेलामा मन्त्रिपरिषद्‌बाट निर्णय गरेर जति चाह्यो त्यति पैसा दिने लामो समयदेखिको अभ्यास छ यो अभ्यासलाई कानुन बनाएर रोक्छु भन्नुपर्छ ।’

सरकारमा बस्नेहरूले यो बेलामा नागरिकको असन्तुष्टि हटाउनुपर्ने थापाले बताए । ‘चाहे गाउँको सरकार होस् चाहे संघको सरकार जनतामा रहेको असन्तुष्टि हटाउनुपर्छ,’ उनले भने । सरकारमा हुनेहरूले चाहिने काम मात्रै गर्नुपर्ने र नचाहिने काम गर्न नहुने थापाले बताए ।

पूर्वविशिष्ट पदाधिकारीलाई राज्यकोषबाट आजीवन सुविधा दिने सम्बन्धमा सरकारले कानुन तर्जुमा गर्न लागेको सन्दर्भमा थापाको प्रतिक्रिया आएको हो ।

समाचार वर्गहरू