प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि एमाले बाहेक ६४ दल दर्ता

75
फोटो - रासस

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ दल दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार सोमबार साँझसम्म ६४ वटा दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका हुन् ।

प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि यही मंसिर १ गतेबाट सुरु भएको हो । यही १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दर्ताको समय छ ।

६४ वटा दलमा नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरू छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका वाम दल र समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले समेत निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसकेका छन् । नेकपा एमालेले भने अहिलेसम्म दर्ता प्रक्रिया अघि बढाएको छैन ।

निर्वाचन आयोगका अनुसार सोमबारसम्म दर्ता दलको संख्या १३५ पुगेको छ । यी मध्ये निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका पार्टीले आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्यका निर्वाचनमा भाग लिन पाउनेछन् ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार आगामी ६ माघमा उम्मेदवारको मनोनयन पत्र दर्ताको समय छ । सोही दिन बेलुका उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने दिने दिन ७ माघ हुनेछ । ८ माघमा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गर्नेछ ।

पुन: उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । ९ माघमा उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् । सोही उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

समाचार वर्गहरू