प्रधानमन्त्री ओली र भारतीय क्रिकेटर तेन्दुलकरबीच भेट

18
तस्बिर : प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटरबाट

(काठमाडौं) – प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रख्यात भारतीय क्रिकेटर सचिन तेन्दुलकरले भेट गरेका छन् । नेपाल भ्रमणका लागि आएका क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका हुन् ।

ओलीलाई भेट्न तेन्दुलकर आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को कार्यक्रममा तेन्दुलकर नेपाल आएका हुन् । उनी युनिसेफका सद्भाव दूत हुन् । युनिसेफको ब्रान्ड एम्बेसडरका रुपमा तेन्दुलकर गत शुक्रबार काठमाडौं आएका हुन् ।

उनले शनिबार त्रिवि क्रिकेट मैदानमा बालबालिकाहरुसँग क्रिकेट पनि खेलेका थिए । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा तेन्दुलकरले नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दाससम्मिलित एउटा मैत्रीपूर्ण खेल खेलेका थिए । १० ओभरको उक्त खेलमा बाँकी सबै बालबालिका थिए । बालअधिकार सम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा खेल आयोजना गरिएको हो ।

आज बिहान उनी पशुपति मन्दिर दर्शन गर्न पुगेका थिए । प्रधानमन्त्रीसँगको भेटमा तेन्दुलकरले बालबालिकाहरुको कल्याण र अधिकार प्रवर्धनमा नेपाल सरकारले गरेको प्रयासको सह्राहना गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

समाचार वर्गहरू