दाङ – विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
दाङको लमहीस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा एपीएफले कर्णालीलाई २०४ रनले पराजित गर्यो ।
समूह ए मा रहेको एपीएफले प्रस्तुत गरेको २ सय ३६ रनको लक्ष्य पछ्याएको कर्णालीले १४ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ३१ रन मात्र बनाउन सक्यो । उसका लागि कुनै खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । कर्णालीका लागि कप्तान लक्ष्मी रिमालले ६ रन र दीक्षा पुरीले अविजित रहँदै ५ रन जोडिन् ।
बलिङमा एपीएफकी करुणा भण्डारीले सर्वाधिक ५ विकेट हात पार्दा राजमती एरीले २ तथा सोनु खड्का र रेखा रावलले समान १/१ विकेट लिईन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रन लक्ष्य प्रस्तुत गरेको थियो । एपीएफका लागि कप्तान सिता राना मगरले ५९ बलमा ८ चौकासहित ६८ रन बनाइन् ।
यस्तै, सरिता मगरले पनि ४४ रन जोडिन् । ओपनर ज्योति पाण्डेले ३२ र इन्दु वर्माले २२ रन जोडिन् । कर्णालीका लागि दीक्षा पुरीले २ तथा निशा पराजुली र अन्जु गुरुङ समान १/१ विकेट लिईन् । आईतबार पहिलो खेलमा कर्णालीले लुम्बिनी प्रदेश र दोस्रो खेलमा एपीएफले प्रदेश २ को सामना गर्नेछ ।