प्रधानमन्त्री र मन्त्रीहरुको दसैं खर्च कोरोना उपचार कोषमा

25

काठमाण्डौं – मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रीहरुलको दसैं खर्च वापत प्राप्त रकमलाई कोरोना भाईरस रोकथाम तथा नियन्त्रण कोषमा उपलब्ध गराउने निर्णय गरेको छ । गत २९ असोजमा मन्त्रिपरिषद्ले गरेको निर्णय सोमबार पत्रकार सम्मेलनमार्फत सार्बजनिक गर्दै सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले त्यस्तो जानकारी गराएका हुन् ।

‘प्रधानमन्त्री र मन्त्रीहरुले प्राप्त गरेको यस वर्षको दसैं खर्च वापतको रकम कोरोना भाईरस रोकथाम तथा नियन्त्रण कोषमा उपलब्ध गराई यस रोगको रोकथाम र नियन्त्रणमा सहयोग पु¥याउने निर्णय भएको छ ।’ २९ असोजको निर्णय सार्बजनिक गर्दै प्रवक्ता गुरुङले भने ।

त्यस्तै, सरकारले प्रदेश र स्थानीय तह पदाधिकारी र निर्वाचित जनप्रतिनिधिहरुलाईसमेत मन्त्रिपरिषद् बैठकको निर्णयको मर्मअनुसार यस वर्षको दसैं खर्च कोरोना कोषमा जम्मा गर्न हार्दिक अनुरोध पनि गरेको छ ।

कोरोना महामारीका बेला जनप्रतिनिधिहरुले दसैं भत्ता लिएकोमा चौतर्फी आलोचना भइरहेका बेला मन्त्री गुरुङले सरकारको पछिल्लो निर्णय सार्बजनिक गरेका हुन् । यसअघि लुम्बिनी प्रदेश सरकारले यस वर्षको दसैं खर्च नलिने र कोरोना उपचार कोषमा खर्च गर्ने निर्णय गरेको थियो । सत्तारुढ नेकपा र प्रमुख विपक्षी कांग्रेसले यस वर्ष सांसदहरुले प्राप्त गरेको दसैं खर्च एकमुष्ट रुपमा कोरोना उपचार कोषमा दाखिला गराउन संघीय संसद सचिवालयलाई पत्राचार गरिसकेका छन् ।

 

समाचार वर्गहरू