काठमाडौं । २०६२/६३ सालपछि सार्वजनिक पद धारण गरेकाहरुको सम्पत्ति छानबिन गर्न समिति गठन गर्ने बालेन्द्र (बालेन) साह नेतृत्वको क्याबिनेटको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता डा. प्रेमराज सिलवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पत्ति जाँचबुझ छानबिन आयोग, अध्यक्ष राजेन्द्रकुमार भण्डारीलाई विपक्षी बनाउँदै सर्वोच्चमा आज रिट दायर गरेका हुन् ।
रिट निवेदनको पेशी भोलि तोकिएको छ । सरकारको सो निर्णयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकारमाथि ठाडो हस्तक्षेप गरेको अधिवक्ता सिलवालको ठहर छ । सो निर्णय खारेजभागी रहेको उल्लेख गर्दै लेखिएकोछ,‘भ्रष्टाचार नियन्त्रण गर्ने प्रयोजनको लागि भन्दै सरकारले गठन गरेको छुट्टै आयोगले संवैधानिक अधिकारप्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमाथि प्रत्यक्ष हस्तक्षेप र अतिक्रमण गरेकोले प्रारम्भदेखि नै खारेजभागी छ ।’
त्यसैगरी, उनले उक्त आयोगको प्रतिवेदन कार्यान्वयनको विषयमा प्रश्न उठाएका छन् । ‘सरकारद्धारा गठन गरेको आयोगको प्रतिवेदन हुबहु लागु गर्न वा नगर्न संवैधानिक आयोगलाई कुन कानुनले केकस्तो कानुनी बाध्यता छ कि छैन रु संवैधानिक आयोगले सरकारद्धारा गठिन आयोगको प्रतिवेदनको मात्र आधारमा कसैलाई सिँधै कारबाही वा मुद्दा चलाउन मिल्ने वा नमिल्ने रु यो र यस्ता धेरै सवालमा सरकारले सूचना सार्वजनिक गरेको छैन ।’
अधिवक्ता सिलवालका अनुसार सरकारको निर्णय सर्वोच्चको प्रतिनिधि फैसलाविपरीत छन् । उनले क्याबिनेटद्वारा गठित छानबिन आयोग खारेज गरी संविधान र कानुनबमोजिम कार्य गर्न–गराउन परमादेश जारी गर्न माग गरेका छन् ।
‘उक्त मन्त्रिपरिषदद्धारा गठित आयोग उत्प्रेषणको आदेशले प्रारम्भदेखि नै खारेज गरी सोसम्बन्धी कुनैपनि कार्य, निर्णय र कारबाहीहरु कर्यान्वयन नगर्न र संवैधानिक अधिकारप्राप्त आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत संविधान र कानुनबमोजिम कार्य गर्न–गराउन प्रत्यर्थीका नाममा परमादेश जारी गर्न निवेदन गरेको छु’,रिट निवेदनमा उल्लेख छ ।
सरकारले २०६२–६३ देखि हालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरुको सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको छ । आयोगको सदस्यमा पूर्वन्यायाधीशद्वय चण्डीराज ढकाल र पुरुषोत्तम पराजुली, पूर्वप्रहरी नायव महानिरीक्षक गणेश केसी तथा चार्टर्ड एकाउण्टेण्ट प्रकाश लम्साल छन् ।