बारा – जिल्लाको निषेधित क्षेत्र सिम्रौनगढ बजारमा नेकपाले ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुखविरुद्ध मंगलबार प्रदर्शन गरेको छ । व्यापारीसित साँठगाँठ गर्दै भारतबाट सामान ल्याउनेलाई सघाएको, विभिन्न अपराधिक घटनाका अभियुक्तहरुलाई पक्राउ नगरेको, निर्दोष नागरिकलाई पक्राउ गरि कुटपिटसँगै अमानवीय व्यवहार गरेको भन्दै प्रदर्शन गरिएको नेकपाका सिम्रौनगढका नगर संयोजक गगनदेव कुसवाहाले बताए ।
सिम्रौनगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुरेन्द्र तामाङविरुद्ध नेकपाका कार्यकर्ताहरुले प्ले कार्ड बोकेर बजारमा प्रहरीविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । भारतीय सीमा नाकासँग जोडिएको सिम्रौनगढ क्षेत्र प्रहरीको बाह्य आयस्रोतमा आकर्षक ठाउँ मानिन्छ । कोरोना भाइरसको संक्रमण रोक्न स्थानीय प्रशासनले प्रदर्शन गरिएको उक्त क्षेत्रमा एक सातादेखि निषेधाज्ञा जारी गरेको छ ।
‘प्रहरी कमाउ धन्दामा केन्द्रीत भएको र मुद्दाका अभियुक्तहरुलाई पक्राउ नगरेपछि बाध्य भएर प्रदर्शन गरिएको हो,’ नेकपाका नेता गोपाल ठाकुरले भने, ‘गृह मन्त्रीदेखि मन्त्रालयका अधिकारीहरु र जिल्लाका प्रहरी प्रमुखलाईसमेत यो विषयमा गुनासो गर्दा सुनुवाई भएन, प्रहरी निरीक्षकले पनि अटेरी गर्नुभयो ।’
प्रहरी निरक्षक तामाङले झुठो आरोप लगाएर नियोजित रुपमा आफूविरुद्ध प्रदर्शन गरेको दाबी गरे ।