बागमतीलाई हराउँदै संकटाले जित्यो सभापति कपको उपाधी

118
तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौं – संकटा क्लब सभापति कप फुटबल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ। बिहीबार आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई सडन डेथमा ४-३ ले पछि पार्दै संकटाले सभापति कप फुटबलको उपाधि जित्न सफल भएको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलको निर्धारित समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। टाइब्रेकरमा ३-३ गोलको बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो।

पेनाल्टीमा संकटाका लागि लछ्छु थापा, साम कार्लस, दीप कार्की, सुनिल खड्काको प्रहार गोलमा परिणत हुँदा राम थापा र रोशन पहारीको प्रहार बागमतीका विकेश कुथुले बचाएका थिए।

बागमतीका लागि नवीन लामा, फोडे फोफाना, सेनेगलाइज एलेक्सले गोल गर्दा कुल्दीप कार्की र गौरव श्रेष्ठको प्रहार दीपले बचाएका थिए। रजत तिवारीको प्रहार आकासिएको थियो।

जितसँगै संकटाले ट्रफीसहित नगद २६ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको बागमतीले १३ लाख रूपैयाँ पाएको छ।

समाचार वर्गहरू