काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिंदैछन् ।
नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्तासाझेदारी तोड्दै नयाँ समीकरण बनाएपछि अल्पमतमा परेका जम्कट्टेल संवैधानिक व्यवस्था अुनसार आज विश्वासको मत लिन लागेका हुन् ।
अल्पमतमा परेको १३ दिनपछि प्रदेश सभामा दिउँसो १ बजे विश्वासको मत लिने तयारीमा रहेका जम्कट्टेलको पक्षमा ३० सांसद मात्रै देखिएका छन् ।
यो अवस्थामा सरकार टिकाइराख्ने जम्कट्टेलसँग कुनै संसदीय विकल्प देखिंदैन । उनको पक्षमा आफ्नै दल नेकपा माओवादी केन्द्रका २१, नेकपा (एकीकृत समाजवादी)का ७ र हाम्रो नेपाली पार्टीका दुई जना सांसद छन् ।
नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाले विश्वासको मत नदिने निर्णय गरेका छन् । प्रतिपक्षी दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पनि जम्कट्टेलको विपक्षमा उभिने भएको छ ।
बागमतीमा अब कांग्रेस र एमालेको सरकार गठन हुनेछ । सत्ता समीकरणको शीर्ष नेतृत्वबीच भएको सहमतिअनुसार सरकारको नेतृत्व कांग्रेसले गर्ने चर्चा छ ।
जम्कट्टेलले मुख्यमन्त्रीबाट बिदा भएर नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढेसँगै सरकारको नेतृत्व कसले लिने भन्ने विषय टुंगो लाग्ने एमालेका एक सांसदले जानकारी दिए ।
११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि कम्तिमा ५६ सांसदको समर्थन आवश्यक रहेकोमा कांग्रेस र एमालेसँग गरेर ६४ सांसद छन् ।
बागमती प्रदेशसभामा सात राजनीतिक दलको प्रतिनिधित्व रहेकोमा सबैभन्दा ठुलो दल कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।