बाढीका कारण रुरु महोत्सव प्रभावित

27

रासस/गुल्मी – गत बुधबार रातिदेखि परेको वर्षाका कारण गुल्मीको रुरु महोत्सव प्रभावित भएको छ । वर्षाका कारण रिडी खोलामा बाढी आएसँगै रिडीको रुरु महोत्सवमा बगर छेउमा बनाइएका ३४ वटा होटलका अस्थायी टहरामा समेत बाढी पसेको छ ।
होटलका टहरामा बाढी पसेपछि व्यवसायी विस्थापित बनेका छन् । स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा व्यवसायीका सामानलाई टहराबाट हटाएर सुरक्षित स्थानमा सारिएको महोत्सव आयोजक समितिका निर्देशक हिमाल श्रेष्ठले जानकारी दिए ।

रिडी खोलामा बाढी आएसँगै मेलामा वारपार गर्नका लागि खोला तर्न बनाइएको काठको अस्थायी पुलसमेत बगाइदिएको छ । रिडीको माघे संक्रान्ति मेलालाई लक्षित गरी गुल्मी उद्योग वाणिज्य संघ रिडी शाखा र रुरु फ्रेण्ड्स क्लबको संयुक्त आयोजनामा रुरु क्षेत्र गाउँपालिकाको रिडीमा दोस्रो रुरु महोत्सवको आयोजना गरिएको हो । वर्षाका कारण बिहीबार दिनभर सुनसान बनेको महोत्सव शुक्रबार पनि सुनसान बनेको छ । मेलामा व्यापारका लागि आएका कतिपय व्यवसायी वर्षाका कारण आफ्ना सामान लिएर त्यत्तिकै घर फर्कन बाध्य भएका छन् ।

पाल्पा, स्याङ्जा र गुल्मीको सङ्गमस्थल रिडीमा माघे सङ्क्रान्तिको अवसरमा तीन दिनसम्म ठूलो मेला लाग्ने गर्दछ । तर, यस पटक लगातारको झरी र अत्यधिक चिसोका कारण मेला प्रभावित बनेको हो ।
महोत्सव माघ ९ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

समाचार वर्गहरू