काठमाडौं – नेपाल बार एसोसिएसनले न्यायपरिषदको सदस्यमा दामोदर खड्काको नाम सिफारिस गरेको छ ।
शनिबार बसेको कार्यसमितिको बैठकले खड्काको नाम सिफारिस गरेको, महासचिव अञ्जिता खनालले जानकारी दिइन् । खड्का बरिष्ठ अधिवक्ता हुन् ।
उनका अनुसार, आइतबार नै बारले सिफारिससम्बन्धी विवरण खुलाइएको चिठी न्यायपरिषदमा पठाउनेछ । अनि न्यायपरिषदले बारको सिफारिस सहितको पत्र संसदीय सुनुवाइ समितिमा पठाउनेछ ।
न्यायपरिषदमा प्रधानन्यायाधीश, कानूनमन्त्री, सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीशका साथै थप दुई जना सदस्यहरु नियुक्त हुन्छन् ।
ती दुईमध्ये एकजनाको नाम प्रधानमन्त्रीले सिफारिस गर्ने र अर्कोको नाम नेपाल बार एसोसिएसनले सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।
बारबाट सिफारिस भएका सदस्य रामप्रसाद श्रेष्ठले अवकाश पाएपछि एउटा सदस्य पद रिक्त थियो । संसदीय सुनुवाइबाट अनुमोदन भएपछि मात्रै सिफारिस भएका व्यक्तिको नियुक्ती हुन्छ ।