(काठमाडौं) – बाला चतुर्दशी अन्तर्गत आज दिवंगत पितृका नाममा दीपदान गरिँदै छ । साँझ दीपदान गरी भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइन्छ ।
प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि मनाइँदैछ । पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवमन्दिरमा बाला चतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजनको घुँइचो लाग्ने गर्दछ ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउने गर्दछन् । विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको आज बिहानैदेखि पशुपतिमा भीड लागेको छ ।
आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।
बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउछन् ।
शतबीज भनिएपनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश र्पुयाउन अनुरोध गरिन्छ ।
तर, नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा. रामचन्द्र गौतमका अनुसार “हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार अरू अन्न नभई धानका सय गेडा चढाउनुपर्छ, अरु होइन ।”
भगवान् शिव मृगरूप लिएर घुमेको भनिने क्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवगंत आत्माले पनि मुक्ति पाउने धार्मिक विश्वास छ ।