बैंकिङ क्षेत्रको एक उदाहरण : अनुपमा खुञ्जेली

63

भवनाथ आचार्य/काठमाडौं – मुलुकमा ठूल्ठूला राजनीतिक परिवर्तन भए । तीनै परिवर्तनसँगै मुलुकमा अहिले राजनीतिक स्थायित्व कायम भएको छ । नेपालले राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीशका रूपमा महिला नेतृत्व पाइसकेको छ । समाज र सोच परिवर्तन भएको छ, हरेक क्षेत्रमा महिलाहरू पनि पुरुष समान हैसियतमा आफूलाई उभ्याउन सफल छन् ।

मुलुकमा आएको राजनीतिक परिवर्तनसँगै राष्ट्रको उच्च तहमा मात्रै होइन, निजी क्षेत्रमा पनि महिलाको नेतृत्व स्थापित हुने क्रम विस्तारै बढ्दै गएको छ । अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र मानिने बैंकिङ क्षेत्रमा पनि महिलाको नेतृत्व स्थापित भएको छ । बैंकिङ कारोबार गर्ने अन्य संस्था पनि प्रशस्त छन, जहाँ महिला कर्मचारीको सहभागिता बढ्दो छ ।

मेहेनत, परिश्रम बिना कुनै पनि मानिसले प्रगति गर्न सक्दैन भन्ने एउटा उदाहरण हुन् मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत सीईओ अनुपमा खुञ्जेली । निजी क्षेत्रको वाणिज्य बैंकको इतिहासमा खुञ्जेली नै पहिलो महिला सीईओ हुन् । पछिल्ला वर्षहरुमा मेगा बैंकको प्रगति उत्साहजक देखिन्छ । हालै मात्र बैंकले दुईवटा सफलता प्राप्त गऱ्यो ।

एकातर्फ ‘बैंक अफ दी इयर’को अवार्ड पायो, अर्काेतर्फ बैंककी सीईओ खुञ्जेली उत्कृष्ट महिला व्यवस्थापक घोषित भइन् । अवार्ड र सम्मानले मात्र होइन, तथ्याङकले पनि बैंकको सफलता देखाउँछ । उनको व्यवस्थापकीय नेतृत्वमा सो बैंकले राम्रो वित्तीय कार्यसम्पादन गर्दै आएको छ ।

बैंकिङ क्षेत्रमा २९ वर्षदेखि सक्रिय खुञ्जेली वाणिज्य बैंकहरु मध्येकै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत पनि हुन् । तीब्र गतिमा ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको पछिल्लो तीन वर्षमा समग्र बैंकिङ क्षेत्रको ‘ग्रोथ’ करीब १६ प्रतिशत छ । यो अवस्थामा मेगाले ३२ प्रतिशत ‘ग्रोथ रेट’ कायम गर्दै अघि बढेको छ । यो आफ्नो भन्दा पनि सम्पूर्ण मेगा बैंकको कर्मचारी टिमको मेहनतको परिणाम भएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘हाम्रो यो सफलतामा बोर्डदेखि ट्रेनी सहायकसम्मको यसमा योगदान छ । यी अवार्डले हामीलाई भोलिको दिनमा अझै धेरै सफलतामा अघि बढ्न लागि शक्ति दिएको छ, बैंकमाथिको थप जिम्मेवारीका रुपमा समेत हामीले यसलाई लिएका छौं ।’

उनले मेगा बैंकको व्यवस्थापनको नेतृत्व सम्हालेको दुई वर्ष भइसकेको छ । केही महिना निमित्त सीईओ भएपछि १ बैशाख २०७५ देखि उनलाई बोर्डले पूर्ण रुपमा सीईओको जिम्मेवारी दिएको थियो । बैंकको सीइओका रुपमा नियुक्ति पाएका उनका लागि अवसरका साथै चुनौती पनि थुप्रै थियो । तर, अन्य बैंक भन्दा धेरै ग्रोथ गरेर उनीले चुनौतीलाई अवसरमा परिणत गरेकी छिन् । २९ वर्ष पहिला खुञ्जेलीले स्टाण्डर्ड चार्टर्ड (तत्कालीन ग्रिण्डलेज) बैंकबाट आफनो बैंकिङ करियर शुरु गरेकी हुन् ।

ग्रिनलेजमा १३ वर्ष काम गरेपछि ६ वर्ष उनले नविल बैंकमा बिताइन् । मेगा बैंकमा उनी स्थापनादेखि नै छिन् । त्यतिबेला उनीसँगै हालका नविल बैंकका सीइओ अनिलकेशरी शाह र मेगा बैंकका डेपुटी सीईओ रविना देशराज श्रेष्ठले पनि आफ्नो करिअर शुरुवात गरेका हुन् । सँगसँगै बैंकिङ करियर शुरु गरेका मध्ये अनुपमा र रविना अहिले मेगाको नेतृत्वदायी भूमिकामा छन् । करियर अगाडी बढाउँदै गर्दा तीनै जना सहकर्मीहरु नविल बैंकमा प्रवेश गरे ।

नविलबाट पनि फेरि तीनै जना बैंकरहरु नयाँ जोश र जाँगरका साथ मेगा बैंकको बागडोर सम्हाल्न पुगे । मेगा बैंकमा दुई कार्यकाल नेतृत्व गरेर अनिल पुनः नबिलकै सीईओ भएर फर्किए । तर, झण्डै तीन दशक बैंकिङ करिअर सँगसँगै बिताएका सहकर्मीहरु छुट्टिएपछि मेगा बैंकको नेतृत्व सम्हाल्ने जिम्मा खुञ्जेलीको काँधमा आयो ।

ठमेलको नर्सिङ क्याम्पमा हुर्किएकी अनुपमाको बाल्यकाल महाराजगञ्जमा बित्यो । सेन्ट मेरिजमा उनले स्कूल जीवन बिताइन् । शंकरदेवमा क्याम्पस पढिन् । उनका बुबा निजामती सेवामा दिए । सन्तान आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने मान्यता बुबाको थियो । पहिलो महिला सीईओ भएर इतिहास रच्न पाएकोमा खुसी भएकी उनी सँगसँगै थपिएको चुनौती भने बिर्सन नसकिने सुनाउँछिन् । खुञ्जेली भन्छिन् ‘सीईओ भयो भनेर खुसी हुनुभन्दा पनि सफलतापूर्वक बैंकलाई कसरी हाँक्ने भन्ने चुनौती छ ।’

बैंकिङ क्षेत्रमा तीब्र प्रतिस्पर्धाका बीच मेगाको सफलताको दर उच्च छ । बैंकले पञ्चवर्षीय योजना बनाएर अघि बढेको थियो । पञ्चवर्षीय योजनाका लक्ष्यहरु तीन वर्षमै लगभग पूरा गरिसकेपछि नयाँ पञ्चवर्षीय योजना बनाएर अघि बढ्न लागेको उनी बताउँछन् । मेगाले गण्डकी विकास बैंकलाई आगामी बैशाखभित्र ‘अक्वायर’ गर्दैछ । त्यसपछि मेगा २७ मध्ये १० औं स्थानमा उक्लने छ । बैंकको बचत र कर्जा लगानी अर्बमाथि हुने छ भने बैंकको सञ्जाल ६३ जिल्लामा पुग्ने छ । गण्डकीलाई ‘अक्वायर’ गरेपछि नयाँ पञ्चवर्षीय योजना बनाएर अघि बढ्ने योजना उनको छ ।

आफ्नो काँधमा आएको यति ठूलो जिम्मेवारीलाई अवसरको रुपमा सदुपयोग गर्ने प्रण उनले गरेकी छिन् । कुनै पनि संस्थाको नेतृत्वमा पुग्ने अवसर निक्कै थोरैलाई प्राप्त हुने र त्यसको लागि वातावरण भने आफैले बनाउनु पर्ने उनको बुझाई छ । त्यस्तै लगनशिलता साथ आफ्नो जिम्मेवारी पूरा गरेमा सफलता प्राप्त गर्न कठिनाई नहुने पनि बताउँछिन् उनी । अहिले उनी अवसरलाई सदुपयोग गर्दै मेगा बैंकलाई सबल बनाउन लागिरहेकी छिन् । कर्मचारीको वृत्ति विकास र तालिममा उनले विशेष जोड दिएकी छिन् । बैंकमा ‘लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर’ खोलिएको छ । जहाँ बैंकको ‘पोलिसी’ र ‘प्रोडक्ट’को बारेमा कर्मचारीलाई प्रशिक्षण दिने गरिन्छ । कर्मचारीको ‘अनलाइन’ परीक्षा समेत लिने गरिएको छ । कतिपयलाई तालिमका लागि बैंकले विदेश समेत पठाएको छ ।

बैंकिङ क्षेत्रको विकास पछिल्लो दुई वर्ष उत्साहजनक छ । यसमा राजनीतिक स्थिरताले पनि सहयोग गरेको उनको भनाई छ । देशको विकासका कामहरु सोचेजस्तो नभएपनि आफू सधैं सकारात्मक भएर काम गर्ने उनी बताउँछिन् । संस्थाको सफलतासँगै कर्मचारीहरुले आफ्नो ‘करिअर’ पनि आफैंले मूल्याङकन गर्ने ‘सिष्टम’ बनाइएको छ । हरेक तीन–तीन महिनामा कर्मचारीको मूल्यांकन हुने गरेको छ । कर्मचारीलाई हाकिमले होइन, उसको कामको आधारमा वृत्तिविकास गरिने सिष्टम लागू गरिएको छ । आफ्नो बढुवा हुन्छ कि हुँदैन, कहाँ सुधार गर्नुपर्छ भन्ने कुरा कर्मचारीले आफैँ थाहा पाउँछन् । यही सिष्टमले गर्दा बैंकभित्र कर्मचारीको ‘पर्फमेन्स’ उच्च छ, सोही कारण बैंकले सफलता पाएको अनुपमा सुनाउँछिन् ।

नेपाली समाजमा महिलालाई घरको दायित्व पनि धेरै हुने गर्दछ । बैंकिङ क्षेत्रमा धेरै समय दिनुपर्छ । परिवारको सहयोगमै आफू यहाँसम्म पुगेको उनी बताउँछिन् । मेगाले कसमस डेभलपमेन्ट बैंक र टूरिजम डेभलपमेन्ट बैंकसँग मर्ज गरेको अनुभव लिइसकेको बताउँदै सीइओ खुञ्जेली भन्छिन्, ‘हामीकहाँ आउनु अघि टूरिजमले २ वटा साना विकास बैंकहरुलाई मर्ज गराइसकेको थियो, यसकारण हामीसँग मर्जरको राम्रो अनुभव छ ।

मेगा बैंक स्थापनाकै बेलामा हलोदेखि हाइड्रोसम्म भन्ने नारा लिएको थियो । अनुपमाको विश्लेषण अनुसार नेपालमा बैंकिङ साक्षरता अझै पनि कमजोर छ । वित्तीय साक्षरता कमी भएका कारण सबै क्षेत्रका नागरिक बैंकिङमा जोडिएका छैनन् । यसकारण पनि साना कृषकदेखि उद्योग योजनाहरु समेतलाई समेट्ने उद्देश्यका कारण हलोदेखि हाइड्रोसम्म भन्ने नाराका साथ मेगा बैंक स्थापना भएको उनी बताउँछिन् ।
राष्ट्र बैंकले विपिन्न वर्गमा ५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने नियम बनाएको छ । त्यसलाई ध्यान दिँदै अहिले मेगा बैंकले पञ्चवर्षीय योजना बनाएको अनुपमाले जानकारी दिइन् । यस योजना अनुसार १० प्रतिशत विपन्न वर्गमा लगानी गर्ने उल्लेख गरेकोमा योजनाको ३ वर्षमा नै ८ प्रतिशत पुऱ्याई सकिएको उनले बताइन् ।

उनले बैंकिङ करिअर सुरु गर्दा बैंकमा बचत खातामा १० प्रतिशत ब्याज दिन्थे । कुनै समय बैंकले बचत खातामा एक प्रतिशत मात्र ब्याज दिने अवस्था पनि उनले देखिन् । समस्या र चुनौती हरेक क्षेत्रमा आइरहने र यसले विकासको गति अघि बढीरहने उनको भनाई छ । सफलताका लागि उनले सिकेको सूत्र हो–हरेक दिन मेहनत गर्नुपर्छ । साथै अवसरलाई सधैं ‘क्याच’ गर्नुपर्ने उनी बताउँछन् । बैंकिङ क्षेत्रमा धैरै ‘रिस्क’ भएकाले ‘ग्रोथ’सँगै त्यसमा ध्यान दिनु जरुरी भएको उनी बताउँछिन् ।

साइबर सेक्युरिटी, ‘कर्पाेरेट गभर्नेन्स’जस्ता कुरामा विशेष ध्यान दिइएको उनी बताउँछिन् । सीइओका रुपमा महिलाहरुलाई अघि बढाउने योजना समेत उनले ल्याएकी थिइन् । उद्यमशील महिलाहरुका लागि मेगा बैंकले बिना धितो १५ लाख रुपैयाँसम्म कर्जा दिने गरेको छ । महिलाहरुलाई व्यवसायमा अघि बढाउने उद्देश्यले यस्तो प्रोडक्ट ल्याइएको उनी बताउँछिन् । कुनै पनि करिअरमा सफलताका लागि सही निर्णय लिन सक्ने क्षमता बढाउनुपर्ने उनको अनुभव छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा महिलाहरुको उपस्थिति बढ्दै गएकोमा उनलाई खुशी लागेको छ ।

आफ्नो मेहनत देखेर नै आफूलाई बोर्डले नेतृत्व दिएको भन्दै अनुपमा यो विश्वासलाई कहिल्यै गुम्न नदिने र टिमवर्कमा काम गर्ने बताउँछिन् । सीइओ खुञ्जेली भन्छिन्, ‘बैंकको अवस्था अहिले एकदमै राम्रो छ । निस्कृय कर्जा १ प्रतिशत भन्दा कम छ । ग्रोथ रेटका आधारमा उत्कृष्ट ५ बैंकमा पर्छ । निक्षेप र कर्जाका आधारमा हेर्ने हो भने २८ वाणिज्य बैंकहरु मध्ये १९ औं र मुनाफाका आधारमा हेर्ने हो भने १८ औं स्थानमा मेगा बैंक छ ।’ मेगा बैंकमा ४३ प्रतिशत महिला छन् ।

मेगा बैंकका नारामध्ये एक हो ‘विश्वास जित्दै, अघि बढ्दै’ । यो नारा उनको जीवनमा पनि मिल्छ । अनुपमा पनि विश्वास जित्दै आफ्नो करिअरमा अघि बढ्दै आएकी छिन् । सुरुमा बैंकको सञ्चालक बोर्डको उनले विश्वास जितिन्, अहिले ग्राहकहरुको विश्वास जित्दै अघि बढेकी छन् । मेगा बैंकका १११ वटा शाखा कार्यालय, २९ वटा एक्सटेन्सन काउण्टर, ११४ वटा एटीएम मेसिन, ११९ वटा शाखा रहित बैंकिङ केन्द्रहरु तथा ३ हजार भन्दा अधिक मेगा रेमिटका प्रतिनिधिहरु रहेका छन् ।

समाचार वर्गहरू