काठमाडौं – सिन्धुपाल्चोकको बाह्रबिसे -तातोपानी सडक खण्डको छ्याक्सा नजिकै भोटेकोसी नदीमा फेला परेको क्षतिग्रस्त बोलेरो गाडी नदीबाट निकालिएको छ । गाडीका चालक र उक्त गाडीमा सवार एक महिला भने बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार क्षतिग्रस्त बा २० च २१८५ नं. को बोलेराेका चालक भोटेकोशी गाउँपालिका-५ बस्ने अन्दाजी ३८ वर्षीय सानु शेर्पा हुन् भने उनीसहित बोलेरोमा बाहृबिसे नगरपालिका-९ बस्ने ३५ वर्षीया सुन्तली तामाङ सवार थिइन् ।
दुवै फोन सम्पर्कमा नआएको भनी आफन्त मार्फत् जानकारी पाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी निरञ्जन भट्टराईले बताए ।
शुक्रबार बिहान बाह्रबिसे नगरपालिका- ६ बोर्डरल्याण्ड ढुङ्गाखानी छ्याक्सास्थित अरनिको राजमार्गबाट अन्दाजी १०० मिटर तल भोटेकोशी नदीमा गाडीको टायर देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेको कमाण्डमा ७ जनाको टोली खटिएका थिए भने सशस्य प्रहरी र स्थानीयबासी समेत उद्धारमा जुटेका थिए ।
मध्यभोटेकोसी जलविद्युत आयोजनाबाट मगाइएको एउटा क्रेनबाट पटक-पटकको प्रयासमा ७ घण्टापछी बोलेरो नदीबाट निकालिएको छ ।
स्थानीय र आफन्तसँगको सोधपुछका आधारमा बोलेरो बिहीबार बेलुकानै सडकबाट नदीमा खसेर दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।