(काठमाडौं) – मुलुकमा हाल कायम रहेको लकडाउनको अवस्थामा नेपाल टेलिकमले भ्वाइस तथा डाटा सेवामा विशेष महसुल दर तथा प्याकेज ल्याएको छ । सरकारले यही चैत्र १६ गते डाटा सेवामा २५ प्रतिशत छुट दिने निर्णय गरे अनुसार कम्पनीले २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुटको व्यवस्था गरेको छ । यस अनुसार जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी कर सहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा लागू हुनेछ ।
सेवाहरू सुपथ मूल्यमा उपलब्घ गराउने क्रममा नेपाल टेलिकमले चैत्र २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी जीएसएम सेवामा डाटा प्याक उपलव्ध गराउने निर्णय गरेको जनाएको छ । सो अन्तर्गत पहिलो प्याकेजमा १ सय रुपैयाँमा १ जीबी डाटा खरिद गर्दा ३ जीबी बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ । यसैगरी दोस्रो प्याकेजमा २ सय रुपैयाँमा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरूप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ७ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ । यसरी १ सय रुपैयाँमा बोनस सहित कुल ४ जीबी र २ सय रुपैयाँमा बोनस सहित कुल १० जीबी डाटा प्राप्त हुनेछ ।
यसैगरी कम्पनीकै नेटवर्क भित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलव्ध भ्वाइस प्याक खरिद गर्दा मिति चैत्र २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी ५० प्रतिशत छुट उपलव्ध गराउने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि २५ रुपैयाँमा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ । यसैगरी दोस्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि एक सय रुपैयाँमा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । यसरी २५ रुपैयाँमा एक दिनका लागि बोनस सहित ६० मिनेट र रु १०० मा ७ दिनका लागि बोनस सहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ ।
यसका अतिरिक्त कम्पनीको ल्यान्डलाइन सेवाको महसुल ढिलो भुक्तानी भएमा जरिवाना लाग्ने व्यवस्था भएकोमा यही फाल्गुन र चैत्र महिनाको महसुल वापत हुने जरिवाना नेपाल सरकारको चैत्र १६ को निर्णयकै आधारमा कम्पनीले आगामी बैशाख मसान्तसम्मको लागि मिनाहा गर्ने निर्णय गरेको जनाएको छ । साथै, पूर्ण लकडाउनको अवधिमा कम्पनीका एडीएसएल र एफटीटीएच लगायत वाइम्याक्स सेवाका ग्राहकवर्गलाई सेवा निरन्तर उपलव्ध गर्न यस अवधिमा समयावधि सकिएका लाइनहरुको म्याद लकडाउन अवधिभरका लागि थप गर्ने निर्णय गरेको छ ।