काठमाडौं – मधेश प्रदेश सरकारले ८ राज्यमन्त्रीलाई फिर्ता पठाएको छ। आठ जिल्लाको मधेश प्रदेशको १२ मन्त्रालयमा २० मन्त्री नियुक्त गरिएकोमा व्यापक विरोध भएपछि मन्त्री फिर्ता पठाएको हो।
मधेश प्रदेशमा १२ वटा मन्त्रालयमा २० मन्त्रीलाई नियुक्त गरिएपछि चौतर्फी आलोचना झेलिरहेको मधेश प्रदेश सरकारले राज्यमन्त्रीहरूलाई पदमुक्त गरेको छ।
जनता समाजवादी पार्टी नेपालको व्यापक विरोध, जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री पदमा बसेका सतिशकुमार सिंहलाई सोधेको स्पष्टीकरण र सर्वसाधारणबाट बढ्दै गएको आलोचना र विरोधलाई थेग्न नसकेपछि मधेश प्रदेश सरकारले मन्त्रिमण्डलबाट राज्यमन्त्रीलाई फिर्ता बोलाएको हो।
गत साउन २२ गते मधेश प्रदेश सरकारले २० सदस्यीय मन्त्रिमण्डल गठन गरेको थियो। जसमा मुख्यमन्त्री सहित १२ मन्त्रालय र ८ राज्यमन्त्री रहेका थिए।
आठवटा मात्रै जिल्ला भएको मधेश प्रदेश भूगोलको आधारमा सानो भएपनि मात्रै गठबन्धन टिकाउन प्रदेशलाई अनावश्यक मन्त्रीहरूको भार थपिएपछि आलोचना भएको हो।
मधेश प्रदेश सरकारबाट फिर्ताहुने राज्यमन्त्रीमा जनमत पार्टीका २, एमालेका ३, कांग्रेसका २ र लोसपाका १ रहेका छन्। संवैधानिक प्रावधानअनुसार मधेश प्रदेशमा कुल सभासदको २० प्रतिशत मन्त्री बनाउन सकिने व्यवस्था छ।