मधेश प्रदेशका सांसद सरोजकुमार सिंहलाई ४ वर्षको कैद सजयाको फैसला

7

काठमाडौं । भ्रष्टाचार मुद्दामा मधेस प्रदेशका निलम्बित प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुशवाहालाई दोषी ठहर गर्दै चार वर्ष एक महिना कैद तथा ३८ लाख ५० हजार १३९ जरिवाना हुने फैसला विशेष अदालतले सुनाएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले सो फैसला सुनाएको हो। अदालतले ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ बमोजिम सिंहबाट १ लाख ५४ हजार पाँच रुपैयाँ ५६ पैसा क्षतिपूर्ति शुल्क असुल गरी ‘पीडित राहत कोष’मा जम्मा गर्न आदेश दिएको छ।

साथै घुस बापत लिएको ३८ लाख ५० हजार १३९ सरकारी कोषमा जफत गर्न पनि निर्देशन दिएको छ। महोत्तरी निर्वाचन क्षेत्र नं ४ ख बाट निर्वाचित प्रदेशसभा सदस्य सिंहले विभिन्न उपभोक्ता समितिहरूबाट घुस तथा कमिसनबापत ३८ लाख ५० हजार १३९ लिएको पुष्टि भएको अदालतले जनाएको छ।

उक्त रकम लिएको सम्बन्धमा प्रतिवादीले विवाद नगरेकाले अदालतले सोही रकमलाई भ्रष्टाचारको बिगो कायम गरेको जनाएको छ। अभियोगअनुसार उपभोक्ता समितिका खातामा जम्मा भएको रकम आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत झिक्न लगाई सिंहले आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा ३८ लाख ५० हजार १३९ जम्मा गरी हिनामिना गरेका थिए।

यस प्रकरणमा विशेष अदालतले भ्रष्टाचार कसुर प्रमाणित भएको निष्कर्षसहित कैद, जरिवाना, क्षतिपूर्ति तथा रकम जफतको आदेश दिएको हो।

समाचार वर्गहरू