काठमाडौं – मधेश प्रदेश सरकारले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बहिष्कार गर्ने निर्णय गरेको छ। मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज पत्रकार सम्मेलन गर्दै परीक्षा बहिष्कार गर्ने निर्णय गरिएको बताए।
पत्रकार सम्मेलनमा मधेश सरकारकी शिक्षा र संस्कृतिमन्त्री रानी शर्मा तिवारी पनि उपस्थित थिइन्। बिहीबारदेखि सुरु हुने एसईईमा मधेश सरकारले एसईई केन्द्राध्यक्ष चयन प्रक्रियामा आपत्ति जनाएको छ। प्रदेश सरकारका अनुसार राष्ट्रिय परीक्षा बोर्डको नियमावली र प्रदेश सरकारको निर्देशनविपरीत केन्द्राध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाइएको छ।
एसईई व्यवस्थित, मर्यादित र प्रतिष्ठित बनाउन मधेश प्रदेश सरकारले केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट गर्ने निश्चित विधि र प्रक्रिया तय गरेको थियो। प्रदेश परीक्षा सञ्चालन र व्यवस्थापन समितिको मार्गनिर्देशनमा परीक्षा समन्वय समितिहरूलाई निर्देशन दिइएको थियो।
उक्त प्रक्रियाअन्तर्गत परीक्षा प्रणालीको निष्पक्षता, पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्नका लागि केन्द्राध्यक्ष नियुक्ति गर्दा स्वार्थ समूहको दबाब वा हस्तक्षेपको जोखिमलाई नियन्त्रण गर्न गोलाप्रथाको व्यवस्था गरिएको थियो। तर, हालसम्म जिल्ला परीक्षा समन्वय समितिहरूले पूर्ववत् व्यवस्था पालना गर्दै केन्द्र निर्धारण गरिएका विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्त गरेका छन्। यस निर्णयलाई प्रदेश सरकारले अस्वीकार गरेको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले भने,‘परीक्षामा विकृति र बेथिति निम्त्याउने सम्भावना उत्पन्न गरेको यस प्रक्रिया अस्वीकार्य छ। प्रदेश सरकारको प्रयासलाई कमजोर पार्ने कार्य हुनसक्छ’, उनले थप भने, ‘परीक्षामा विकृतिका कारण चिटिङ र अनियमितता बढी हुने सम्भावना रहेको छ। हामीले एसईई परीक्षाको गरिमा र निष्पक्षता सुनिश्चित गर्न सरकारको ढंगले काम गरिरहेका छौं जुन निर्णय संघीय शिक्षा मन्त्रालयको निर्देशनको उल्लंघन हो।’