मनोनयन दर्ता गराएका उम्मेदवारलाई निर्वाचन चिन्ह 

18

(काठमाडौं) – निर्वाचन आयोगले मंसिरमा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।

प्रतिनिधिसभा र प्रदेश सभाका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका ६४ जना उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन चिन्ह प्रदान गरेको आयोगले जनाएको छ ।

दलगत रुपमा उठेका उम्मेदवारलाई दलकै निर्वाचन चिन्ह र स्वतन्त्र उम्मेदवारको हकमा निर्धारण गरिएका निर्वाचन चिन्ह मध्येबाट उम्मेदवारले रोजे अनुसारको निर्वाचन चिन्ह उपलब्ध गराएको आयोगले जनाएको छ ।

प्रतिनिधि सभाका लागि कास्कीमा दलका ११ र स्वतन्त्र १० गरी २१ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिएको हो । यस्तै, प्रदेश सभाका लागि भक्तपुर १ क मा दलका ९ र स्वतन्त्र १० गरी १९, बागलुङ २ ख मा दलका ८ र स्वतन्त्र २ गरी १० र दाङ ३ ख मा दलका १२ र स्वतन्त्र २ गरी १४ जनालाई निर्वाचन चिन्ह दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

उम्मेदवारले निर्वाचन चिन्ह प्राप्त गरेसँगै चुनावी प्रसारप्रसार गर्न बाटो खुलेको छ । मतदान एकै दिन हुने भएपनि आयोगले स्थानीय तहका लागि भने पर्सी बुधबार मात्रै मनोनयन दर्ता गर्ने समय तोकेको छ । स्थानीय तहका लागि उपमहानगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष गरी ४८ पदका लागि उपनिर्वाचन हुँदैछ ।

समाचार वर्गहरू