मन्त्री पुन जापान जाँंदै, नलसिंङगाड जलविद्युत परियोजना बारे छलफल हुने 

13

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन जापान भ्रमणमा प्रस्थान गरेका छन् । जापानी विकास नियोग (जाइका) को निमन्त्रणामा मन्त्री पुन सोमबार साँझ त्यस तर्फ प्रस्थान गरेका हुन् । जापान भ्रमणमा जानुअघि ऊर्जामन्त्री पुनसँग जापानी राजदूत मासामिची साइगोले शिष्टाचार भेटवार्ता गरेका थिए ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै ऊर्जा र जलस्रोतको क्षेत्रमा गर्न सकिने सहकार्यका बिषयमा छलफल भएको थियो । भेटमा मन्त्री पुनले भ्रमणबाट दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

जापानी राजदूतले भेटमा मन्त्री पुनको जापान भ्रमण र त्यसका ऐजेण्डाबारे छलफल गरेका थिए । ऊर्जामन्त्री पुन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहित सोमबार राति जापानको ओसाका जाने कार्यक्रम छ ।

जापान भ्रमणको क्रममा मन्त्री पुनले जापानको लिवरल डमोक्रेटिक पार्टीका महासचिव निकाई टोसिहिरो, जाइकाका उपाध्यक्ष हिरोसी कातो, जापानको कृषि तथा वन मामिला सम्बन्धी मन्त्री इटो योशिताका, जापानको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै नेपाल–जापान पार्लियामेन्टिरियनस फ्रेण्डसिप लिगका अध्यक्ष सहतिका पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले जापान भ्रमणको क्रममा नेपालको जलविद्युत क्षेत्रमाको सम्भावना र लगानीबारे समेत जापानी लगानीकर्तासँग अन्र्तक्रिया गर्ने कार्यक्रम छ । कार्यक्रममा फुजी र कान्साई लगायतका विश्व प्रख्यात कम्पनीको समेत सहभागिता रहनेछ । त्यसका साथै जापानमा बसोबास गरिरहेका नेपाली समुदायसँग समेत समृद्ध नेपाल निर्माणमा उर्जाको महत्व र प्रवासी नेपालीको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले जाइकाका उपाध्यक्षसँगको भेटमा जाजरकोटमा रहेको ४१७ मेगावाटको नलसिंङगाड जलविद्युत परियोजनालाई अन्तिम टुंगो लगाउने विषयमा समेत छलफल गर्ने कार्यक्रम छ । नेकपाका नेता समेत रहेका मन्त्री पुनको भ्रमण उक्त परियोजनालाई अघि बढाउने विषयमा केन्द्रित हुनेछ ।

नलसिंङगाड परियोजना जाइकाले पीपीपी मोडेलमा अध्ययन गरिरहेको छ । उक्त परियोजनालाई अघि बढाउने विषयमा छलफल गर्न ऊर्जामन्त्री पुन जापान भ्रमणमा जान लागेको मन्त्री पुनका स्वकिय सचिव दुर्गा चापांगाईले जानकारी दिए । मन्त्री पुनले यसअघि पनि जापानी राजदूत साइगोसंगको नलसिंङगाड जलविद्युत आयोजनालाई अघि बढाउने विषयमा छलफल गरेका थिए ।

समाचार वर्गहरू