मन्त्री पुन र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता

12

(काठमाडौं) – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित ऊर्जा मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा द्धिपक्षिय हित र आपसी सहयोगका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पुनले गत महिना भएको आफ्नो जापान भ्रमण सफल भएको र उक्त भ्रमणमा भएका सहमतिलाई अघि बढाउन मन्त्रालयले काम गरिरहेको बताए । उनले जापान नेपालको पुरानो र विश्वासिलो विकास साझेदार मुलुक भएको भन्दै नेपालको विकासमा जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

मन्त्री पुनले राष्ट्रपति विद्यादेवी भण्डारी जापानको उच्चस्तरिय भ्रमण सकेर नेपाल फर्केको भन्दै आगामी दिनमा पनि उच्चस्तरमा द्धिपक्षिय भ्रमण जारी रहने उल्लेख गरे ।

मन्त्री पुनले आफ्नो जापान भ्रमणका क्रममा नलसिंङ जलविद्युत आयोजना र जापानसंग ऊर्जा समझदारीमा हस्ताक्षर गर्नेमा छलफल भएको भन्दै त्यसको प्रगतिबारे पनि राजदूतसंग छलफल गरेका थिए ।

त्यसका साथै सिंचाई र कृषिको क्षेत्रमा समेत जापानी सहयोग मिल्ने विश्वास आफूलाई रहेको मन्त्री पुनको भनाई थियो । भेटमा जापानी राजदूतले कृषि र सिंचाईको क्षेत्रमा सहयोग गर्न आफूहरु इच्छुक रहेको बताए ।

उनले नलसिंङ जलविद्युत आयोजनालाई अघि बढाउने विषय जापानले पनि प्राथमिकतामा राखेको भन्दै चांडै ऊर्जा क्षेत्रमा सहकार्य गर्नेमा पनि चांडै प्रगति हासिल हुने बताए ।

भेटमा जापानी विकास नियोग जाइकाकी नेपाल प्रमुख आशाकुमा युमिकोको समेत उपस्थिति थियो ।

समाचार वर्गहरू