मर्स्याङ्दीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुग्यो

98

काठमाडौं – मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ। भारतीय पर्यटक बोकेको बस आज (शुक्रबार) बिहान तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको हो।

घटनास्थलमा २६ जनाको मृत्यु भएको थियो भने एक जनाको भरतपुर अस्पतालमा मृत्यु भएको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। प्रहरीका अनुसार बसमा ४३ जना सवार थिए।

दुर्घटनाग्रस्त बसका १२ घाइतेलाई थप उपचारको लागि काठमाडौँ ल्याइएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

पोखराबाट काठमाडौँ आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो। प्रहरीका अनुसार सो बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए ।

समाचार वर्गहरू