काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफू कारागारबाट स्वेच्छाले नभई जबरजस्ती बाहिर निकालिएको बताएका छन्।
नख्खु कारागारबाट निस्किएको विषयमा उठेको आलोचनापछि उनले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै आफू कारागारबाट स्वेच्छाले नभई जबरजस्ती बाहिर निकालिएको बताएका हुन्।
लामिछानेले भने, ‘कारागारबाट मैले निस्कन चाहेको होइन। भीड बढेपछि कारागारले जबरजस्ती बाहिर निकालेको हो। म विना पत्र जान्न भनेको हुँ।’ उनका अनुसार यसबारे कारागार प्रशासनले दिएको पत्र समेत सार्वजनिक गरिसकेका छन्। यद्यपी यो पत्रमा मिति लगायत आधिकारिकताको बिषयमा प्रश्न उठिरहेको छ ।
उनले सुरक्षा निकायका प्रमुखसँग सम्पर्क गरेको दाबी गर्दै भने, ‘मैले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई भनिसकेको छु, मलाई नियन्त्रणमा लिनुहोस् वा कारागार पठाउनुहोस्। तर उहाँहरूले आफैं सुरक्षित बस्न भने।’
उनले यो आन्दोलन जेन–जेडको भएको पनि दोहोर्याए। झुठा मुद्दा अझै खेलाइरहेको भन्दै उनले आफू कानुनी प्रक्रियाबाटै अघि बढ्ने बताए।
‘जनताले ओली–देउवालाई खेदे तर तिनले लगाएको झुठो मुद्दा अझै मेरो टाउकोमा छ,’ उनले भने, ‘सुरक्षा दिन नसक्ने निकायले आफैं सुरक्षित बस भन्छ, कारागारले बाहिर निकाल्छ। यस्तो अवस्थामा के म बाँच्न पाउने कि नपाउने भन्ने प्रश्न छ।’