महाधिवेशनको मिति तोक्न कांग्रेसमा विवाद ज्युँ का त्युँ

81
फाइल फोटो

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्ने विषयमा बहस जारी छ।

असोज २८ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठक विशेष महाधिवेशन, नियमित महाधिवेशनका साथै चुनावअघि वा चुनावपछि भन्नेमा केन्द्रित रहेको छ। पछिल्लो समय विशेष महाधिवेशन ओझेलमा पर्दै गए पनि चुनावअघि वा चुनावपछि महाधिवेशन गर्ने विषयमा कांग्रेसभित्र चर्को विवाद देखिएको छ।

महामन्त्री गगन थापाले चुनावअघि महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका प्रस्तुत गर्दा सहमहामन्त्री महेन्द्र यादवले बैठकमा ‘काउन्टर’ प्रस्ताव प्रस्तुत गरेका छन्। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनपछि वैशाखमा महाधिवेशन सम्पन्न गर्नुपर्ने कार्यतालिका सहमहामन्त्री यादवको छ।

संस्थापननिकट सहमहामन्त्री यादवले महामन्त्री थापालाई ‘काउन्टर’ दिने गरी प्रस्ताव ल्याएपछि कांग्रेसभित्र झनै विवाद चुलिएको छ। यी प्रस्तावमा नेताहरूबीच ध्रुवीकरण बढिरहँदा संस्थापन तथा इतर समूहकै नेताहरू विभिन्न समूहमा बाँडिएका छन्।

बुधबार बसेको बैठकमा संस्थापननिकट नेता विजय गच्छदार चुनावअघि महाधिवेशन सम्पन्न गर्नुपर्ने राय प्रस्तुत गरे। उनले पुस मसान्तसम्म नियमित महाधिवेशन गर्न सकिने उल्लेख गरे। कांग्रेसका ‘सात भाइ’ नेताहरूले चुनावअघि महाधिवेशन गर्न नहुने पक्षमा रहेको बेला त्यसमध्येका एक गच्छदार भने पुसमा नियमित महाधिवेशन गर्न सकिने उल्लेख गरेका छन्।

उनले विशेष महाधिवेशनतर्फ नगएर पुसमा नियमित महाधिवेशन गर्नुपर्ने विकल्प अघि सारेका छन्। उनले सहमतिमा महाधिवेशनको कार्यतालिका ल्याउन सुझाव दिए।

महाधिवेशनको मिति तोक्ने विषयमा विवाद उत्पन्न भए पनि हालसम्म सहमतिको प्रयास नभएको नेताहरूको भनाइ छ। ‘केन्द्रीय सदस्यहरू बाँडिनु भएको छ। शीर्ष नेताहरूको पनि आ–आफ्नै तर्कहरू छन्। सहमतिमै महाधिवेशनको मिति तोक्न प्रयास भएको देखेको छैन,’ एक केन्द्रीय सदस्यले भने।

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा चुनावको मिति घोषणा भइसकेको अवस्थामा दलहरूसँग संवाद गर्न कांग्रेसले ढिलाइ गरिरहेको स्वीकार गर्छन्।

‘लोकतान्त्रिक पार्टी भएको नाताले चुनावको वातावरण बनाउन अन्य दलहरूसँग संवाद गर्न पक्कै पनि ढिलाइ भएको छ,’ उनी भन्छन्,‘चाँडै केन्द्रीय समिति बैठक टुंग्याएर कांग्रेस अब त्यसतर्फ केन्द्रित हुन्छ।’

उनले कांग्रेस लोकतान्त्रीक दल भएकाले सवै विषयमा सदस्यहरुले खुलस्त रुपमा चासो राखेको भन्दै देशको प्राथमिकताका आधारमा पार्टीले एकमत भएर निर्णय गर्ने दाबी गरे।

असोज २८ गतेदेखि सुरु भएको बैठकमा पार्टीको १५ औँ महाधिवेशन सम्बन्धी विषयमा निरन्तर छलफल भइरहेको छ ।

समाचार वर्गहरू