काठमाडौं – निजामती कर्मचारीले सेवामै रहेर माथिल्लो तहको प्रतिस्पर्धामा भाग लिन नपाउने भएका छन् । राजपत्रअनङ्कित वा राजपत्राङ्कित श्रेणीका कर्मचारीले खुला प्रतिस्पर्धाबाट माथिल्लो तहमा बढुवा हुन कार्यरत पदबाट राजीनामा दिनुपर्नेछ ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भइरहेको संघीय निजामती कर्मचारी सम्बन्धी विधेयकमाथिको छलफलमा उक्त प्रावधान राख्ने विषयमा सांसदहरुले सहमति गरेका हुन् ।
अहिले सेवामै रहेर माथिल्लो तहको खुला परीक्षामा भाग लिन पाउने व्यवस्था छ । नयाँ व्यवस्थाबाट कर्मचारीले पदमै रहेर उपसचिव र सहसचिवमा प्रतिस्पर्धा गर्न पाउने छैनन् । माथिल्लो तहमा प्रतिस्पर्धा गरेर बढुवा भएमा कार्यरत सेवा अवधि नजोडिने प्रावधानमा सांसदहरु सहमत भएका छन् । यसअघि भने खुला प्रतिस्पर्धाबाट बढुवा भए पनि सेवा अवधि जोडिने व्यवस्था थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्तुत गरेको विधेयकमा सांसदहरुले राजपत्रअनङ्कित द्वितीय श्रोणी खरिदारमा ८० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ती गर्ने सहमति गरेका छन् । मन्त्रालयले सतप्रतिशत नै खुला प्रतिस्पर्धाको प्रावधान राखेपनि परिमार्जन गर्दै सांसदहरुले २० प्रतिशत आन्तरिक प्रतियोगिताबाट पदपूर्ती गर्ने सहमति गरेका हुन् ।
राजपत्र अनङ्कित प्रथम श्रेणी नायव सुब्बाको पदपूर्ती खुलाबाट ५० र कार्यक्षमता मूल्यांकन बढुवाबाट ५० प्रतिशत गरिनेछ । सरकारले खुला र कार्यक्षमतामा ४० र ६० प्रतिशत प्रस्ताव गरेको थियो । यस्तै श्रेणीविहीन कर्मचारीहरु करारमा राख्ने सरकारी प्रस्तावलाई भने सांसदहरुले असहमति जनाएका छन् । श्रेणीविहीन कर्मचारीलाई पनि स्थायी गर्नुपर्ने सांसदहरुले माग गरेका थिए ।