मान्यजनबाट टीका र जमरा लगाई हर्षोल्लासका साथ विजया दशमी मनाइँदै

13

काठमाडौं – नेपालीहरूको महान चाड विजया दशमी । वडादसैँको दशौँ दिन आज आफ्ना मान्यजनहरूबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजया दशमी मनाइँदैछ । विजया दशमीका दिन आज बिहान १०: ३५ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । देवी विसर्जनको साइत बिहान ८ बजेर ४५ मिनेटमा रहेको समितिले जनाएको छ ।

पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ ।

विजया दशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजा अर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।

आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथा दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । विजया दशमीको आज टिका लगाउने दिन । विजया दशमीमा मान्यजन तथा आफन्तजनबाट टिका, जमरा तथा आशिर्वाद ग्रहण गर्ने चलन छ ।

समाचार वर्गहरू