मुलुकभर डेंगुको संक्रमण बढ्यो

13

काठमाडौं – उपत्यका लगायत मुलुकका विभिन्न जिल्लामा डेंगु संक्रमण बढेको छ । यो वर्ष साउनयता विभिन्न अस्पतालमा भर्ना भएका डेंगु बिरामीको संख्या करीब ३ हजार नाघिसकेको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

अस्पतालको बहिरंग सेवाबाट उपचार गराएर घरमै स्वास्थ्य लाभ गर्नेको संख्या भने अझै यकिन भएको छैन । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउनयता प्रदेश १ मा ७५२, प्रदेश २ मा २३, प्रदेश ३ मा १३४४, गण्डकी प्रदेशमा ६७७, प्रदेश ५ मा १०८, सुदूरपश्चिममा १२ र कर्णाली प्रदेशमा २ जनामा डेंगु संक्रमण पाइएको छ । डेंगु संक्रमण भएकामध्ये करीब ७५ प्रतिशतमा लक्षण सामान्य हुने वा नदेखिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनले बताए ।

उनका अनुसार यो वर्ष मुलुककै इतिहासमा सबैभन्दा बढी र कडा रूपमा देशव्यापी डेंगुको प्रकोप देखिएको हो । चिकित्सकका अनुसार सामान्य डेंगुका बिरामी करीब एक सातामा आफैं निको हुन्छन् । ज्वरो आउनेबित्तिकै अस्पताल भर्ना हुनु नपर्ने र चिकित्सकीय सल्लाहमा घरैमा समेत उपचार गर्न सकिने चिकित्सक बताउँछन् ।

सामान्य डेंगुका बिरामीले ४ घण्टामा पिसाब लाग्ने गरी तरल र झोल पदार्थ सेवन गर्दा धेरै राहत मिल्ने चिकित्सक बताउँछन् । अलिअलि ज्वरो आएर जीउ दुख्दा औषधि पसल गएर आफैंले ब्रुफिन, एस्प्रिन जस्ता दुखाई कम हुने औषधि सेवन गर्नु खतरनाक हुन सक्ने भएकाले यसो नगर्न चिकित्सकले सुझाएका छन् ।

जीउ दुख्नु, उच्च ज्वरो आउनु र आँखाका गेडी दुख्नु डेंगुका लक्षण हुन् । डेंगु भाइरसले संक्रमित लामखुट्टेले टोकेको ३ देखि १० दिनभित्र शरीरमा यसको लक्षण देखिन सक्छ  । भाइरसबाट हुने डेंगु एक व्यक्तिबाट अर्कोमा फैलिँदैन । अहिले देशैभरि फैलिएको डेंगुको प्रसार सबैभन्दा बढी पोथी एडिस एजेप्टाई लामखुट्टेका कारण भइरहेको छ । एडिस एल्बोपिक्टस लामखुट्टेले पनि डेंगु सारेको पाइएको छ ।

समाचार वर्गहरू