(काठमाडौं) – मेडिकल शिक्षा अध्ययनका लागि बंगलादेश पुगेका करिब ७ सय नेपाली बंगलादेशमा अलपत्र परेका छन् । एमडी र एमबीबीएस अध्ययन गर्न गएका विद्यार्थी उतै रोकिएपछि तिनका अभिभावकले राष्ट्रिय मानवअधिकार आयोग गुहारेका छन्।
नेपाली विद्यार्थीका अभिभावकले उजुरीदिएपछी आयोगले परराष्ट्र मन्त्रालयलाई परिपत्र गर्दै विद्यार्थीको स्थिति माग गरेको छ। त्यहाँ फसेका विद्यार्थीलाई तत्काल स्वदेश फिर्ता प्रक्रिया थाल्नसमेत आयोगले भनेको छ।
अन्य मुलुकका विद्यार्थीलाई सम्बन्धित मुलुकले फिर्ता लगे पनि नेपाल सरकारले चासो नदेखाएको भन्दै बंगलादेशमा अध्ययनरत विद्यार्थीका अभिभावक आवश्यक सहायताका लागि आयोग पुगेका थिए।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले कोरोना रोकथाम र उपचारका लागि अस्पताल निर्माण एवं विस्तार गर्ने बताउँदै सबै विद्यार्थीलाई चाँडै आफ्नो मुलुक फर्कन भनेको जनाउसमेत पीडितले आयोगलाई दिएका छन्। त्यसपछि अभिभावक र विद्यार्थी झन् दबाबमा परेका छन् ।
‘अभिभावकले विद्यार्थी फिर्ता गर्न लाग्ने खर्च र क्वारेन्टाइनमा लाग्ने खर्च पनि व्यहोर्न तयार रहेको बताएका छन्’ आयोग सदस्य गोविन्द पौडेलले भने, ‘नेपाल सरकारले खटाएको जुनसुकै ठाउँमा सेवा गर्न जानसमेत मञ्जुरी गरेका छन्।’
बंगलादेशमा रोकिएका विद्यार्थीमध्ये धेरैजसो एमबीबीएस र एमडी पढ्दै गरेका तथा एमडी सकेर बसेका छन्। अस्पताल विस्तारका लागि होस्टल पनि खाली गराइने भएपछि विद्यार्थी थप मारमा परेका हुन् ।