काठमाडौं – मोरङमा शनिबार बस्ती नै सखाप हुने गरी भीषण आगलागी भएको छ। सबै हिसाबले पिछडिएको सतार र मुसहर समुदायको बसोबास रहेको बस्ती छिनभरमै आगोले स्वाहा बनाएको हो।
रंगेली नगरपालिका–३ बाबु सहायक टोलका जंगली मुर्मूको गाई ग्वालीबाट दिउँसो २:३५ बजेतिर आगलागी सुरु भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए। प्रहरी, स्थानीय र दकमलको सहयोगमा ४:३५ बजेतिर आगो नियन्त्रणमा आएको उनको भनाइ छ।
एसपी कार्कीका अनुसार २४ परिवारको बसोबास भएको बस्तीमा २० वटा घर जलेर ध्वस्त भएको छ। पीडितले घरभित्र रहेका सामान निकाल्न नपाएकाले सुन चाँदी, नगद, लत्ताकपडासहित सबै धनमाल जलेर ध्वस्त भएकोउनको भनाइ छ।
सर्वस्व गुमाएका पीडितलाई नजिकैको खाली गाई फार्ममा लगेर राखिएको छ। आगलागीपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राई, मन्त्रालयका सचिवसहित मोरङका सुरक्षा अधिकारी घटनास्थलमा पुगेका थिए।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मोरङको सक्रियतामा पीडितलाई खाद्यान्न, ओढ्ने, ओछ्याउने र खानेपानी वितरण गरिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार तत्कालका लागि १ परिवारलाई २/२ वटा ओढ्ने र ओछ्याउने कपडा तथा १० किलो चामल एवं १ कार्टुन पानी उपलब्ध गराइएको छ।
नगरपालिकाले पनि राहत वितरण गरेको उनले बताए। प्रजिअ भट्टराईले आगोले सिंगो बस्ती नै खरानी बनाएको जानकारी दिए। क्षतिको विवरण यकिन भइनसकेको र संकलन जारी रहेको भट्टराईले बताए। उनले पीडितको उद्धार र राहलाई प्रभावकारी बनाइने जानकारी दिए।