काठमाडौं – हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहनुका साथै भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रकोसमेत आंशिक प्रभावसमेत रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू–भागको केही स्थानहरूमा तथा बाँकी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशका तराईका भू–भागहरूका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ ।
आज राति भने देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू–भागको केही स्थानहरूमा तथा बाँकी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षा र हिमपातको सम्भावना समेत रहेको छ ।