काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तोकिएको छ । निर्वाचन आयोगले विज्ञप्ति जारी गरी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल सार्वजनिक गरेको हो । आगामी माघ ९ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगले मतदानस्थल तोकेको हो ।
प्रदेश नं १ अन्तर्गत मोरङको विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश नं २ को धनुषा जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन र प्रदेश नं ३ अन्तर्गत ललितपुरको ललितपुर महानगरपालिकाको वडा समितिको भवन मतदानस्थल तोकिएको छ ।
यस्तै, गण्डकी प्रदेशको लागि कास्कीको निर्वाचन कार्यालय पोखरा तथा प्रदेश नं ५ को लागि दाङको घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्रको भवन मतदानस्थल तोकिएको छ । कर्णाली प्रदेशको मतदानस्थल सुर्खेतको जिल्ला निर्वाचन कार्यालय परिसरको भवन र सुदूरपश्चिम प्रदेशको मतदानस्थल डोटीको सिलगढी नगरपालिकाकोे पद्म पब्लिकमुक्ति नारायण उच्च मावि तोकिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार ७ प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५५० र स्थानीय तहतर्फका १ हजार ५ सय ६ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख गरी कूल २ हजार ५६ जना मतदाता रहेका छन् ।