युरोप रोजगारीको मागपत्र प्रमाणीकरण विभागबाटै गर्ने तयारी

49

काठमाडौं – सरकारले युरोप रोजगारीको मागपत्र प्रमाणीकरण वैदेशिक रोजगार विभागबाट गराउन सकिने गरी तयारी थालेको छ ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि ल्याएर युरोपेली मुलुकमा संस्थागत (वैदेशिक रोजगार व्यवसायी कम्पनीमार्फत) श्रमिक पठाउन सकिने गरी तयारी थालेको हो ।

युरोपका धेरै देशमा नेपाली श्रमिकको माग रहेको तर नेपाली दूतावास नहुँदा माग प्रमाणीकरणमा समस्या भएकाले दूतावास नभएका देशको माग प्रमाणीकरण विभागबाट गर्ने व्यवस्था भएमा धेरै नेपालीले युरोपमा अवसर प्राप्त गर्ने वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारी बताउँछन् ।

उनका अनुसार युरोपका रोमानिया, पोर्चुगल, क्रोएसिया, इटाली, पोल्यान्ड, डेनमार्कलगायतका देशमा नेपाली श्रमिकको राम्रो माग रहेको छ । संस्थागत मागपत्र प्रमाणीकरण सहज भए व्यक्तिगत रूपमा युरोप रोजगारीका नाममा भइरहेको हालको ठगीमा धेरै कम हुने दाबी सङ्घका अध्यक्ष भण्डारीको छ ।

विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले मागपत्र प्रमाणीकरणको काम विभागले गरे आकर्षक गन्तव्य युरोपेली देशमा धेरै रोजगारीका अवसर सुनिश्चित गर्न सकिने व्यवसायीको आग्रहपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

समाचार वर्गहरू