रवि पत्नि निकिताको वेदना – गैरकानुनी पक्राउमा अदालत बोलेन। अब, न्याय माग्न म कहाँ जाऊँ ?’

184
फाइल फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले न्याय नदिएको अदालतले मानवीय व्यवहारसमेत नगरेको भन्दै दुःख व्यक्त गरेकी छिन्।

गैरकानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि नबोलेको भन्दै पाैडेलले सामाजिक सञ्जालमार्फत आफ्नो आस्था र विश्वासको जग हल्लिएको बताएकी छिन्।

‘केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमानविरुद्ध मुद्दा लगाइयो। नियत नै राखेर थुनियो। गैरकानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन। अब, न्याय माग्न म कहाँ जाऊँ ? मनको डर मेटाउन कसलाई गुहारौँ ?’ उनले प्रश्न गरेकी छिन्।

साे दिनकाे बहसपछि अदालतका प्रवक्ताले घण्टाैँ कुराएर पनि आधिकारिक आदेश पहिले मिडियामा सुनाएकाे उल्लेख गर्दै पाैडेलले लेखेकी छिन्, ‘म निवेदक, मेरो श्रीमानबारे आएको आदेश बाहिरबाट सुन्नुपर्ने, अदालतले आधिकारिक रूपमा नसुनाउने। अदालत प्रशासन कतिसम्म गैरजिम्मेवार। अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन। मानवता हराएको देश !’

गणतान्त्रिक राज्यमा समेत न्याय नपाएको गुनासाे गर्दै उनले थप लेखेकी छिन्, ‘गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ। थाहा छैन, फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ !’

समाचार वर्गहरू