काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी गठी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा नियुक्त गरिएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग जबाफ माग गरेको छ।
प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले लामिछानेको नियुक्तिबारे प्रधानमन्त्रीले जबाफ नदिए कांग्रेस कठोर रूपमा प्रस्तुत हुने बताएका हुन्।
कांग्रेस सहमहामन्त्रीसमेत रहेका पाण्डेले भने, ‘विवादास्पद नियुक्तिमा प्रधानमन्त्रीको धारणा के हो? संसद्मा आएर जबाफ दिनुपर्छ अन्यथा नेपाली कांग्रेस आगामी दिनमा कठोरतापूर्वक प्रस्तुत हुनेछ।’
यसैगरी उनले गृह मन्त्रालयको नेतृत्व अनुसन्धानको दायरामा रहेका व्यक्तिलाई सुम्पेपछि प्रधानमन्त्री दाहालमाथि रहेको झिनो आशा पनि धुजाधुजा भएको छ। पाण्डेले भने, ‘यसबारेमा बुधबारको बैठकमा कांग्रेस सांसदहरूबाट राखिएको प्रश्नलाई प्रधानमन्त्रीबाट लत्याउने काम भयो। यसबाट हामी थप चिन्तित भएका छौँ।’
रवि लामिछानेमाथि गहन राजनीतिक मुद्दा र नैतिकताको कुरा उठाउँदै उनले भने, ‘अनुसन्धानको कमान्ड सम्हाल्नुपर्ने गृहमन्त्री अनुसन्धानको दायरामा रहेकाले एकातिर गम्भीर नैतिक प्रश्न खडा भएको छ भने अनुसन्धान नै प्रभावित हुने आशंका बढाएको छ।’
पाण्डेले लामिछानेलाई पनि आफैँ आरोपबाट घेरिएकाले सहकारी ठगीमा संलग्न अन्य दोषीलाई कसरी कानुनी दायरामा ल्याउनुहुन्छ? भन्ने प्रश्न गरे। ‘कतै तपाईँको पोजिसनलाई रक्षाकवच बनाएर एकदुई करोडको अभियोग लागेका तपाईँलाई शिखण्डीको भूमिकामा अघि सारेर दसौँ अर्बको ठगी गर्ने ठूला माछाहरू उम्काउने प्रपञ्चको तपाईँ हतियार त बनिरहनुभएकोछ छैन?’
उनले यसका लागि सभामुखले रुलिङ गर्नुपर्ने पनि माग गरेका छन्।