काठमाडौं – सामाजिक सेवामा एउटा छुट्टै पहिचाहन बनाएको नेपाल रेडक्रस सोसाइटीमा दुईवटा कार्यसमिति गठन भएको छ ।
मंगलबार सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा ३३ सदस्यीय केन्द्रीय कार्यसमिति बनेसँगै रेडक्रसको दुईवटा कार्यसमिति भएको हो । यसअघि नेत्रप्रसाद तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति बनेको थियो ।
‘तटस्थ, स्वायत्त र स्वयंसेवी सहायता संस्था’ रेडक्रसमा यसअघीनै सत्तारूढ दलका कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नाममा पद छुट्याएर माइन्युट नै गरिएको थियो । कार्यसमितिमा कांग्रेसले अध्यक्ष, उपाध्यक्ष (खुला), उपमहामन्त्रीसहित १५, माओवादीले उपाध्यक्ष (महिला), कोषाध्यक्षसहित ८, एकीकृत समाजवादीले महामन्त्री, उपकोषाध्यक्षसहित ६ जना पाउने लिखित सहमति भएको थियो ।
जिल्ला प्रशासनले निर्वाचन गर्न पत्राचार गरेपछि चुनावी तयारीमा लागेको सहमतिपत्रमा सत्तारूढ दलको प्रतिनिधित्व गर्दै कांग्रेसका सुदर्शनप्रसाद नेपाल, मनोजकुमार थापा र विनोदकुमार बस्नेत, माओवादीका नारायण तिमल्सिना तथा एकीकृत समाजवादीका भूपतिलाल श्रेष्ठले हस्ताक्षर गरेका थिए । प्रशासन कार्यालयको चुनावी गराउने पत्राचार र दलीय भागबन्डाविरुद्ध तिम्सिना पक्षले अदालतमा रिट दायर गर्यो । असार २५ मा तिम्सिनाको नेतृत्वमा ३३ सदस्यीय कार्यसमिति बन्यो ।
मंगलबार भएको निर्वाचनबाट दलीय भागबन्डाको सहमतिपत्रमा हस्ताक्षर गर्नेहरूमध्ये कांग्रेसका सुदर्शनप्रसाद नेपाल अध्यक्ष, एकीकृत समाजवादीका भूपतिलाल श्रेष्ठ महामन्त्री, कांग्रेसका मनोजकुमार थापा उपमहामन्त्री र कांग्रेसकै विनोदकुमार बस्नेत (कोशी प्रदेशको कांग्रेस सहमहामन्त्री) र माओवादीका नारायण तिमल्सिना सदस्य चुनिएका छन् ।
दुवै कार्यसमितिका अध्यक्षले आफूलाई नै वैधानिक कार्यसमिति दाबी गरेका छन् । तिम्सिना भन्छन्, ‘हामीलाई कसैले अवैधानिक भनेर च्यालेन्ज गरेको छैन, हाम्रो कार्यसमितिबारे जिल्ला प्रशासन कार्यालय काठमाडौं, समाज कल्याण परिषद्, गृह मन्त्रालय, रेडक्रसका पार्टनर संस्थाहरू सबैमा जानकारी दिइसकेका छौं ।’ आफूहरू पदबहाली गर्न रेडक्रस कार्यालय जाने तयारीमा रहँदा राज्यबाटै प्रहरी प्रशासन खटाएर कार्यालय प्रवेशमा रोक लगाएको उनले बताए ।
नेपाल भने तिम्सिना पक्षलाई समानान्तर कार्यसमितिका रूपमा स्विकार्न चाहँदैनन् । ‘आफूखुसी भेला भएर गठन गरेकोलाई हामी समानान्तर मान्दैनौं, हामी ७६ जिल्लाबाट आएका आधिकारिक प्रतिनिधिबाट चुनिएका वैधानिक पदाधिकारी हौं, सम्पूर्ण रेडक्रसकर्मी हामी मिलेर नै अघि बढ्ने हो काम गर्ने हो,’ उनले भने ।