(काठमाडौँ) – ललितपुरका मालपोत अधिकृत बद्रीराज ढकालविरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको छ । गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड २७ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
ढकालले २० वर्षे निजामती सेवा अवधिमा करिब ५० लाख रुपैयाँमात्रै तलब र भत्ताबापत बुझेको भेटिएको छ भने श्रीमतीको पारिश्रमिक भनी ७७ हजार रुपैयाँमात्रै आय देखाउन सकेका छन् । तर उनको सम्पत्ति १४ करोड ५३ लाख रुपैयाँ देखिँदा उनले चार करोड २६ लाख रुपैयाँमात्रै वैध देखिएको अख्तियारको दाबी छ ।
२०५४ सालमा अस्थायी शिक्षकको रुपमा जागिर सुरु गरेका ढकालले २०५५ सालदेखि नासुमा निजामती सेवा प्रवेश गरेका थिए । सेवा प्रवेश गरेपछि उनी तनहुँ, कास्की, डिल्लीबजार, पर्सा लगायतका ठाउँमा बसेका थिए । आफूले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाउन उनले साली नाता पर्ने व्यक्तिको नाममा सवारी साधन खरिद गरेको अख्तियारको आरोप छ ।
आफ्नो परिवारको सदस्यको नाममा कुनै कारोबार नदेखाएका उनले अस्ट्रेलियामा बस्ने जेठान नाता पर्ने नवराज अर्यालका नाममा बैंक खाता खोली आर्जन लुकाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । जेठानको खाता प्रयोग गरेरमात्रै उनले ४ करोड २६ लाखको कारोबार गरेका छन् ।
उनले तनहुँ मालपोत कार्यालयमा हुँदा स्थानीय डेकबहादुर गुरुङलाई प्रभावित पारी आफू र आफ्नी श्रीमतीको नाममा जग्गा किनेको देखाई कारोबार गरेका थिए । एक लाख ९७ हजार रुपैयाँमा किनेको जग्गा केही दिनमै उनले एक करोड ६८ लाख रुपैयाँमा बेचेको देखाई गैरकानुनी आर्जनलाई वैधता दिने प्रयास गरेको अख्तियारको आरोप छ ।