लिटिल बुद्ध, शारदा र भक्तपुर निष्ट क्वाटरफाईनलमा प्रवेश

18

(धनगढी) – लिटिल बुद्ध एकेडेमी कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी र भक्तपुर निष्ट स्कूल धनगढीमा जारी निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । संघीय प्रहरी कार्यालयको खेल मैदानमा मंगलबार भएको खेलले अन्तिम आठ पुग्ने तीन टीमको टुङगो लगाएको हो ।

समूह ए को विजेता बन्दै लिटल फ्लावर स्कूल क्वाटरफाईनलमा प्रवेश गरिसकेको छ । समूह ए को उपविजेता बन्दै लिटिल बुद्ध एकेडेमी पनि क्वाटरफाईनल पुगेको छ । लिटिल बुद्धले मंगलबार भएको दोस्रो खेलमा त्रिनगर माविलाई ९६ रनको फराकिलो अन्तरले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । सन्तोष भट्टको अलराउण्ड प्रदर्शनमा लिटिल बुद्धले क्वाटरफाईनलमा समूह बी को विजेता शारदा विद्या निकेतनसँगको भेट पक्का गरेको छ ।

दोस्रो खेलमा टस हारेर पहिलो व्याटिङ गरेको लिटिल बुद्धले २० ओभरमा ९ विकेट क्षतिमा एक सय ६५ रनको स्कोर खडा ग¥यो । उच्च योगफल बनाउने क्रममा लिटिल बुद्धका सन्तोष भट्टले ५४ बलमा ९४ रनको पारी खेले । त्यस्तै विशाल ऐरले २९ रनको अविजित पारी खेले । त्रिनगरका लागि अमित परियारले २ विकेट लिए । एक सय ६६ रनको विजय लक्ष्य पछ्याएको त्रिनगर १७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ६९ रनमा समेटियो ।

त्रिनगरका लागि सिर्जन कुँवरले १२ र हिक्मत सेट्टीले ११ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले दोहोरो रन अंक छुन सकेनन् । ३ जना खेलाडीले खाता समेत खोल्न पाएनन् । लिटिल बुद्धका लागि निराजन गौतमले ५ विकेट लिए भने सन्तोष भट्टको नाममा ३ विकेट रह्यो । ९४ रन बनाउँदै ३ विकेट लिएका लिटिल बुद्धका सन्तोष भट्ट म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए ।

प्रतियोगिता अन्तर्गत मंगलवार भएको पहिलो खेलमा हार व्यहोरेर पनि शारदा विद्या निकेतन क्वाटरफाईनल पुगेको छ । सरस्वती नमुना माविसँग १५ रनले हारेपनि शारदा समूह बी को विजेता बन्दै अन्तिम आठमा पुगेको हो । यो खेलको नतिजासँगै भक्तपुर निष्ट स्कूल पनि क्वाटरफाईनल पुगेको छ । समूह बी मा रहेका शारदा, सरस्वती र भक्तपुर निष्टले एक एक खेलमा जित र एक एक खेलमा हार व्यहोरेर समान २ अंक भएपनि रनरेटका आधारमा शारदा समूह बी को विजेता र भक्तपुर निष्ट उपविजेता बनेको हो । सरस्वती भने प्रतियोगिताबाट बाहिरिएको छ ।

टस हारेर पहिले व्याटिङ गरेको सरस्वतीले २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ६५ रन बनायो । सो ईनिङमा सन्तोष चन्दले ५१ रनको अर्धशतकीय पारी खेले । ह्दिय विडारीले ४८ रन र विनोद खत्रीले २४ रन थपे । शारदाका लागि नरेन सावदले ३ र सुरेन्द्र पन्तले २ विकेट लिए ।

एक सय ६६ रनको लक्ष्य पछ्याएको शारदाले २० ओभरमा ४ विकेट क्षतिमा एक सय ५० रन मात्रै बनाउन सक्यो । सो ईनिङमा अर्जुन सावदले ५२ रनको अर्धशतकीय पारी खेले । विरेन्द्र नाथले ४१ रन र सुरेन्द्र पन्तले २५ रन बनाए । सरस्वतीका लागि ह्दिय विडारीले २ तथा सुनिल लोथ्याल र सन्तोष चन्दले एक एक विकेट लिए । ४८ रन बनाएर २ विकेट लिएका सरस्वतीका ह्दिय विडारी म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए ।

कार्तिक २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बुधबार दुई खेल हुनेछन । पहिलो खेलमा नोवेल एकेडेमी कञ्चनपुर र सत्यवती एकेडेमी तथा दोस्रो खेलमा सैनिक आवासिय महाविद्यालय र हिमालय ह्वाईट हाउस बीच प्रतिस्पर्धा हुने आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

समाचार वर्गहरू