(एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले म्यानचेस्टर सिटीलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।
सिटीमाथिको सहज जितसँगै लिभरपुलले अंक तालिकामा ८ अंकको स्पष्ट अग्रता बनाएको छ । प्रिमियर लिगमा अपराजित रहेको लिभरपुलले १२ खेलबाट ३४ अंक जोडेको छ । दोस्रो स्थानको लेस्टर सिटीको समान खेलबाट २६ अंक छ । २६ अंक नै रहेको चेल्सी तेस्रो तथा २५ अंक जोडेको म्यानचेस्टर सिटी चौंथो स्थानमा यथावत छ ।
घरेलु मैदानमा सहज जित निकाल्ने क्रममा फाबिन्होले छैटौं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । लगत्तै लिभरपुलको डिबक्समा ह्याण्ड भएको भन्दै सिटीले बलियो अपिल गरेको थियो । तर रेफ्रीले त्यसको कुनै सुनुवाई गरेनन् । लिरभपुलका लाथि अर्को गोल मोहम्मद सलाह र साडियो मानेले गोल गरे । त्यस्तै, सिटीका लागि बेर्नान्डो सिल्भाले एक गोल फर्काएका थिए ।
पहिलो हाफमा दुई गोलले अघि रहेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्दै जित सुनिश्चत गरे । खेलको छैटौं मिनेटमा नै फविन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यस्तै, खेलको १३ औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि लिभरपुल पहिलो हाफसम्म २–० गोलले अघि रह्यो ।
खेलको ५१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३–० को अग्रतामा र्पुयाए । खेलको ७८ औं मिनेटमा सिल्भाले गोल फर्काए पनि सिटीले लिभरपुलसँग ३–१ गोलको हार ब्यहोरेको हो ।