काठमाण्डौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सांसद बनाउने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निर्णयअनुरूप राष्ट्रिय सभा सदस्य गौतम सिफारिस हुने जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री युवराज खतिवडालाई पठाउने कि गौतमलाई पठाउने भन्नेमा नेकपाभित्र विवाद थियो। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभाका एक सदस्यलाई फिर्ता बोलाउनेबारे सचिवालय बैठकमा कुनै छलफल नभएको बताएका छन्।
अर्थमन्त्री खतिवडालाई निरन्तरता दिन राष्ट्रिय सभाका एक जना सदस्यलाई फिर्ता बोलाएर खतिवडालाई नै निरन्तरता दिने चर्चा चलेको भन्नेबारे पत्रकारहरूको प्रश्नमा प्रवक्ता श्रेष्ठले त्यसबारे सचिवालयमा कुनै छलफल नभएको बताए। बिहीबार बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने सिफारिस गरेको उनले जानकारी दिए।