काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको निमित्त प्रमुखमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक रहेका शाक्यलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
ऊर्जा मन्त्री वर्षमान पुनका स्वकीय सचिव दुर्गा चापागाईंका अनुसार शाक्यले आजैदेखि पद सम्हाल्ने छन् । कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्तको जिम्मा दिएको थियो ।
अर्को व्यवस्था नभइन्जेलसम्मका लागि मन्त्रालयले उनलाई जिम्मेवारी दिएको छ । यसअघि शाक्य ‘एनइए इन्जिनियरिङ कम्पनी’मा काजमा गएका थिए । ऊर्जा मन्त्री पुनले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई काज फिर्ता गराउन निर्देशन दिएका थिए ।