काठमाडौं, रासस – सरकारले विभिन्न प्रयोजनका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि गरेको छ । सिंहदरबारमा बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् ।
शुभश्री अग्नि सिमेन्ट उद्योगका लागि चुनढुङ्गा उत्खनन गर्न १० वर्षका लागि दाङको बङ्गलाचुली गाउँपालिकाको तिमिलेस्थित ३.९३५ हेक्टर र सम्राट सिमेन्टका लागि चुनढुङ्गा उत्खनन गर्न सोही गाउँपालिकाको थारागाउँस्थित पाँच हेक्टर जमीन १५ वर्षका लागि दिने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।
नेपाल विद्युत् प्राविधिकरणलाई बुटवल (गोरुसिङ्गे–लुम्बिनी) १३२ केभी प्रसारणलाइन आयोजनाको संरचना विस्तार गर्न २५ वर्षका लागि रुपन्देहीमा शून्य दशमलव ४८ हेक्टर र प्राधिकरणको बुर्तिवाङ–पौदीअमराई–तम्घास–सन्धिखर्क–गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजनाका लागि कपिलवस्तुका विभिन्न क्षेत्रमा १६.७६१ हेटर वन क्षेत्र २५ वर्षका लागि दिइने निर्णय सरकराले गरेको छ ।
शहीद घोषणा :
सरकराले कर्तव्य पालनका सिलसिलामा शहादत प्राप्त प्रहरी जवान सञ्जीव राईलाई शहीद घोषणा गरेको छ । उनका परिवारलाई राहतस्वरुप रु १० लाख दिने सरकारले निर्णय गरेको मन्त्री बाँस्कोटाले बताउनुभयो । केही महिनाअघि भोजपुरमा भएको कारवाहीमा नेत्रविक्रम चन्दका कार्यकर्ताको गोली लागेर उनको मृत्यु भएको थियो । त्यस क्रममा चन्दका एक कार्यकर्ताको समेत मृत्यु भएको थियो ।