सुनसरी – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितका लागि धरौटी बुझाए मात्र उपचार प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।
यही कात्तिक ९ गतेदेखि लागू हुने गरी प्रतिष्ठानले कोरोना संक्रमितलाई चार समूहमा वर्गीकरण गरेर सोही अनुसारको धरौटी राख्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
अस्पताल निर्देशक प्रा डा गौरीशंकर साहले एक सूचना प्रकाशन गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशननुसारको शुल्क निर्धारण गरिएको जनाएका छन् ।
उनका अनुसार कुनै लक्षण नभएका सङ्क्रमितले अस्पताल भर्ना हुन सात हजार रुपैयाँ धरौटी राख्नुपर्ने र प्रतिदिन दुई हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । हल्का लक्षण भएका संक्रमितले १२ हजार रुपैयाँ धरौटी राखेर भर्ना हुन सक्ने र प्रतिदिन तीन हजार ५ सय रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।
मध्यम लक्षण भएका बिरामीले ३५ हजार रुपैयाँ धरौटी र प्रतिदिन शुल्क सात हजार ५०० रुपैयाँ तिर्नुपर्नेछ । यस्तै, गम्भीर लक्षण भएका कोरोना संक्रमितले ६० हजार रुपैयाँ धरौटी राखी दैनिक १५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि प्रतिष्ठानले सङ्क्रमितको उपचार निःशुल्क गर्दै आए पनि मन्त्रालयले शुल्क लिएर उपचार गर्न परिपत्र गरेपछि शुल्क निर्धारण गरेको हो ।